१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी

Aarya News Desk

विराटनगर। धनकुटा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार गठवन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापालाई १ हजार ३९६ मतान्तर मतले पराजित गर्दै राई पुनः प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

विजय राई २०७४ सालको निर्वाचनमा पनि थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । अन्तिम मतपरिणाम अनुसार विजयी राईले ३० हजार १०१ र पराजित थापाले २८ हजार ७०४ मत प्राप्त गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका हेमराज भण्डारीले ५ हजार ९२६, राप्रपाका उम्मेदवार कुमारबहादुर थापाले १ हजार ५९ मत प्राप्त गरे ।

त्यस्तै धनकुटा प्रदेश सभाका दुई वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भए । प्रदेश सभा ‘क’ मा निरनकुमार राई र प्रदेश सभा ‘ख’ मा इन्द्रमणी पराजुली निर्वाचित भए ।

प्रतिनिधि सभा एक र प्रदेश सभाका दुई गरी तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमाले धनकुटाले क्लीन स्वीप गरेको छ ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १५:०६:३४ , १ वर्ष अगाडि

error: Content is protected !!