१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

मोरङको क्षेत्र नं. ६ मा डा. शेखर कोइराला निर्वाचित

Aarya News Desk

विराटनगर । मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

शुक्रबार बिहान सकिएको मतगणनामा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन् । मोरङ क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३७१ मत खसेको थियो । ८० हजार ४१७ मत सदर भएको थियो । ४ हजार ९५४ मत बदर भएको थियो । कोइरालाले पण्डित भन्दा १२ हजार २८६ बढी मत ल्याएका छन् ।

२०७४ सालमा कोइराला र पण्डित मोरङ क्षेत्र नं. ६ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पण्डितले कोइरालालाई ६७५ मतअन्तरले पराजित गरेका थिए । यस पटक माओवादीको साथ पाएका कोइरालाले त्यो हारलाई जस्ताकोत्यस्तै फर्काएका हुन् । २०७४ मा पण्डितले माओवादीको साथ पाएका थिए ।

 

प्रकाशित मिति: २०२२-११-२५ , समय : १३:२३:५३ , १ वर्ष अगाडि

error: Content is protected !!