२६ बैशाख २०८१, बुधबार
2024-05-08

भारतमा भिषण आगलागी; एकै परिवारका ६ जनाको जलेर मृत्यु

Aarya News Desk

नयाँ दिल्ली। विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ फिरोजावाद (उत्तरप्रदेश)को एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए ।

आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका कार्य थाल्न निर्देशन दिएको थियो ।

मुख्यमन्त्री कार्यालयले दिवङ्गतहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । मुख्यमन्त्रीले घाइतेलाई तत्काल अस्पताल लैजान र उचित उपचार गर्न जिल्ला प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । रासस

प्रकाशित मिति: २०२२-११-३० , समय : १५:३१:२० , १ वर्ष अगाडि

error: Content is protected !!