
विराटनगर। किराँत धर्मावलम्बीको प्रकृति पुजकका रूपमा रहेका दोस्रो ठुलो चाड उधौली पर्व विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएका छन्। विराटनगरका किराँत धर्मावलम्बीहरूले न्वागी पूजासहित विभिन्न सांस्कृतिक नृत्य लगायतका कार्यक्रम गरि उधौली पर्व मनाएका हुन्।
बिहीबार विराटनगर वडा नम्बर ११ स्थित साकेला थानमा र वडा नम्बर १५ स्थित माङखिम मन्दिरमा पूजापाठ सहितका विविध कार्यक्रम गर्दै किराँत समुदायले उधौली मनाएका छन्। विराटनगरमा ६ हजार भन्दा बढीको संख्यामा किरात धर्मावलम्बीहरू राई, लिम्बु र याक्खाहरूको बसोबास रहेको छ।
पर्वका अवसरमा उनीहरूले ढोकेनी, च्याबु्रङ, हाक्पारे र साकेला लगायतका नृत्य समेत प्रस्तुत गरेका छन्। अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्नुपर्ने धार्मिक मान्यता अनुरूप उधौली पर्व मनाइने गरिएको आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो।
मानव उत्पत्तिका बेला पहिलेपहिले खेतीपाती गरी लगाएको अन्न त्यतिकै खाइन्थ्यो। तर, त्यसले गर्दा रोग व्याधिले सताउन थाल्यो,’अध्यक्ष दिलबहादुर थेबेले भन्नुभयो, ‘छालारोग लगायतका समस्याहरू बढ्दै गएपछि अन्नबालीको पूजा गर्न थालिएको हो।
किराँतहरूको धार्मिक पुस्तक मुन्धुममा समयलाई उधौली र उभौली गरी दुई भागमा विभाजन गरिएको छ। खेती किसानीका आधारमा समयलाई यी दुई भागमा बाँडिएको किराँत समुदायको बुझाई रहिआएको छ।
अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा मनाइने पर्व उभौली हो भने त्यही अन्नबाली भित्र्याउने बेला मंसिर शूक्ल पूर्णिमाका दिन मनाइने पर्व उधौली हो।
Subscribe Youtube Channel Aarya News Online
प्रकाशित मिति: २०२२-१२-०८ , समय : १९:१०:०० , १२ महिना अगाडि