१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

अन्तरिक्षमा दुर्लभ घटना :ताराहरू एउटा ब्ल्याक होलमा ठोकिँदा “असाधारण” विस्फोटन

Aarya News Desk

काठमाडौं । ताराहरू एउटा ब्ल्याक होलमा ठोकिँदा अन्तरिक्षमा एउटा “असाधारण” विस्फोटन भएको वैज्ञानिकहरूले बताएका छन्।

एउटा स्पेस टेलिस्कोप र अमेरिकी अन्तरिक्ष निकाय नासाको वेधशालाले ‘गामा-रे बर्स्ट’ भनिने उक्त घटना पत्ता लगाएका थिए। एक मिनेटसम्म भएको उक्त विस्फोटनलाई वैज्ञानिकहरूको एउटा टोलीले “एउटा दुर्लभ ब्रह्माण्डीय घटना” को सङ्ज्ञा दिएको छ। वैज्ञानिकहरूले उक्त अनुसन्धानबाट भविष्यमा हुने घटनाहरूको अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

गामा-रे बर्स्टलाई ब्रह्माण्डमा हुने सबैभन्दा शक्तिशाली विस्फोटन मानिन्छ। यहाँ उल्लिखित विस्फोटन हाम्रो आकाशगङ्गानजिकै अवस्थित एउटा तारापुञ्जमा भएको थियो। गत वर्ष डिसेम्बरमा उक्त घटना पत्ता लागेको थियो।

ब्ल्याक होलमा ताराहरूको विलय
उक्त विस्फोटनलाई GRB 211211A नामकरण गरिएको छ। उक्त घटनाबाट तुलनात्मक रूपमा लामो समय भएको र सामान्यतया निस्किने ठानिएकोभन्दा बढी इन्फ्रारेड प्रकाश उत्पन्न भएको वैज्ञानिकहरूले बताएका छन्।

अनुसन्धानबाट उक्त प्रकाश ‘किलोनोभा’ भनिने तारकीय घटनाबाट उत्पन्न भएको सङ्केत गरेको छ। त्यस्तो घटनामा न्यूट्रन ताराहरू एउटा ब्ल्याक होलमा ठोकिन्छन्।

उक्त अनुसन्धानको नेतृत्व अमेरिकास्थित नोर्थवेस्टर्न यूनिभर्सिटीकी जिलियन रास्टिनेजादले गरेकी थिइन्। अनुसन्धान टोलीमा यूकेस्थित बर्मिङ्गम र लेस्टर विश्वविद्यालय तथा द नेदरल्यान्ड्सस्थित राड्बाउड यूनिभर्सिटीका विशेषज्ञहरू थिए।

‘सुन कारखाना’
उक्त विस्फोटनका क्रममा सुन र प्ल्याटिनमजस्ता तत्त्वहरू बनेको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्।

यूनिभर्सिटी अफ बर्मिङ्गममा प्राध्यापन गर्ने डा. म्याट निकोलका अनुसार यो अनुसन्धानले किलोनोभाहरू “ब्रह्माण्डमा सुन उत्पादन गर्ने मुख्य कारखाना हुन्” भन्ने मान्यतालाई बल पुर्‍याएको छ। यूनिभर्सिटी अफ लेस्टरसँग आबद्ध अनुन्धानकर्ता डा. ग्याभिन लामका अनुसार विस्फोटन भएको झन्डै एक दिनपछि अत्यधिक मात्रामा इन्फ्रारेड प्रकाश उत्पन्न भएको थियो।

यूनिभर्सिटी अफ बर्मिङ्गममा प्राध्यापन गर्ने डा. बेन्जमिन गोम्पेर्ट्जले यो अनुसन्धानबाट भविष्यमा हुने अध्ययनहरूमा उत्साहवर्धक प्रभाव पर्ने बताए।

यो घटनालाई “असाधारण” को सङ्ज्ञा दिँदै उनले भने, “हामी [ब्ल्याक होलमाताराहरूको] विलयन दुई सेकेन्डभन्दा लामो नहुने भन्ठान्छौँ। तर कुनै रीतले यो पूरा एक मिनेट चल्यो।” बीबीसी

प्रकाशित मिति: २०२२-१२-१० , समय : २२:२४:५७ , १ वर्ष अगाडि

error: Content is protected !!