२६ बैशाख २०८१, बुधबार
2024-05-08

मेसेन्जरबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेपछि बलात्कार मुद्दा हाल्ने भनी ५ करोडको बार्गेनिङ

Aarya News Desk

घोराही । दाङमा हनि ट्रयापमा संलग्न एक पुरुष र २ महिलासहित ३ जना पक्राउ परेका छन् ।

घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका इन्सपेक्टर सञ्जिव बेलबाँसेले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा घोराही-१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णकुमारी बस्नेत, गढवा-६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज छन् ।

इन्सपेक्टर बेलबाँसेका अनुसार उनीहरूले तुलसीपुरका एकजना व्यवसायीलाई मेसेन्जर र मोबाइलबाट शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कार मुद्दा हाल्ने भनी मोटो रकम ब्ल्याकमेलिङ गरेका थिए ।

दाङ प्रहरीका डीएसपी तथा प्रवक्ता राजन गौतमका अनुसार उनीहरीबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझिसकेको बताए । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित व्यवसायीले आफूलाई यौन सम्पर्कको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीका अनुसार घटनाको मतियारको रूपमा पक्राउ परेकी अनुष्कासँग दुई वटा नागरिकता रहेको पनि पाइएको छ ।

तीनजनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०२२-१२-११ , समय : १६:२५:३७ , १ वर्ष अगाडि

error: Content is protected !!