०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर मजदुरको मृत्यु

राजीव कुशवाहा

विराटनगर। मोरङको अस्पताल परिषरभित्र करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ मा रहेको विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर आइतबार साँझ मजदुर सुमन सरदारको मृत्यु भएको हो।

अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका–५ का १९ वर्षीय सुमन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले काम सकेर छुट्टी भएपछि हातखुट्टा धुने क्रममा कलमा जडान गरिएको मटरबाट साँझ ७:१५ बजेतिर करेन्ट लागेर सरदार घाइते भएको बताउनुभयो ।

गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा सरदारको मृत्यु भएको डीएसपी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोमबार बिहानसम्म शव अस्पतालको आकस्मिक कक्षमै छ।

परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेपछि शव आकस्मिक कक्षमै रहेको हो। अस्पतालले लापरबाहीपूर्ण तरिकाले कलबाट मटर जडान गरेका कारण घटना भएको उनीहरुको आरोप छ। उनीहरुले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्।

अस्पतालले भने घटनाका विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि समस्याको समाधानका लागि मृतक पक्ष र अस्पताल प्रशासनबीच छलफलको प्रयास भइरहेको छ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : १०:५५:२९ , १ वर्ष अगाडि

error: Content is protected !!