२१ बैशाख २०८१, शुक्रबार
2024-05-03

मोरङ-सुनसरीका उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरे:भिडियो सहित

राजीव कुशवाहा

विराटनगर। मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका छन् । प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका गरेका हुन्।

विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताएका हुन् । सरकारको प्रतिकूल नीतिका कारण मुलुकभरका उद्योगी व्यवसायीहरू पीडित बन्नु परेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन् ।

सोमबार आयोजित छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरूले विगतमा पनि सरकार र नेपाल राष्ट्र बैंकले दिएका आश्वासनहरू कार्यान्वयन नगरेको भन्दै निर्णायक आन्दोलनको तयारीमा पुगेको घोषणा गरे ।

सरकारको नीतिका कारण निजी क्षेत्र धरासायी बनेको र उद्योगीहरूले घरजग्गा लिलाम गरेर बैंकहरूलाई बुझाउनुपर्ने अवस्था बनेको बताएका छन् । ‘बैंकहरू घोडामा चढेर सुट टाई लगाएर हातमा कलम बोकेर हिँडेको लुटेरा जस्तो भएका छन्,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘अब निर्णायक आन्दोलनको तयारी लागेका छौं ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पनि आगामी आन्दोलन अन्तिम आन्दोलन हुने गरी तयारी अघि बढाइएको बताए । आन्दोलनका लागि सबै वस्तुगत संघसंगठनहरूसँग दुई दिनभित्र अन्तिम तयारी बैठक बस्ने र आन्दोलन घोषणा गर्ने उनले जानकारी दिए ।

’राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदरलाई मौद्रिक नीतिको प्रथम समीक्षा अवधिमा ४ प्रतिशतमा झारे पनि आर्थिक क्षेत्रले त्यसबाट कुनै राहत महसुस नगरेको उद्योगी व्यवसायीहरूले बताए ।

उद्योगी व्यवसायी सम्बद्ध संघसंगठनका नेताहरूले भावी आन्दोलनको स्वरूप लगायतका विषयमा बुधबारभित्रै छलफल गरेर आन्दोलनको स्वरूप सार्वजनिक गर्ने बताए । निर्णयअनुसार आफूहरू जस्तोसुकै आन्दोलनका लागि पनि तयार हुने छलफलमा सहभागी व्यवसायीहरूले बताए ।

प्रकाशित मिति: २०२२-१२-१३ , समय : ११:१५:५७ , १ वर्ष अगाडि

error: Content is protected !!