१३ बैशाख २०८१, बिहिबार
2024-04-25

बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

Aarya News Desk

काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिका–४ चलान गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–११ सल्लेबाट बेथानचोक–५ च्याल्टीमा व्रतबन्ध कार्यमा पुगेर फर्किएको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बस दुर्घटना हुँदा घटनास्थलमा १३ र अन्य ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा बस चालक ललितपुर महाकालका सन्तोष तिमलसिना, बनेपा नगरपालिका-१४ का रामकुमार तामाङ, बनेपा नगरपालिका-११ की निर्मला तामाङ, योगेश तामाङ, आंकुर तामाङ, उनकी श्रीमती हेमा तामाङ, पुष्कर तामाङ, कोपिला तामाङ, श्रेया तामाङ, मानडन देउपुर- १ की जेलि तामाङ, धुलिखेल नगरपालिका -११ का बुद्ध तामा, बेथानचोक- ५ की मन्जु तामाङ र बनेपा -१४ की गिता श्रेष्ठको शवको पहिचान भएको जिल्ला प्रहरी प्रमुख जोशीले जानकारी दिए। अन्य ४ जनाको पहिचान हुन सकेको छैन। उनीहरुको शव आफन्त आएपछि पहिचान हुने जोशीले बताए।

गम्भीर घाइते भइ पहिचान नखुलेका ३ वर्षको बालक र ५ वर्षका रेन्जेन तामाङलाई अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको लागि रिफर गरिएको र १३ वर्षको योगेश तामाङको बालमैत्री अस्पताल उपचारको लागि पठाएको प्रहरीको भनाई छ। गम्भीर घाइते ५ जनाको काठमाडौंमा उपचार भइरहेको र सामान्य घाइते भएकाको धुलिखेल र बनेपा अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार बेलुका ६ : ३० बजेतिर बस दुर्घटना भएको हो। तीव्र गतिका कारण दुर्घटना भएको स्थानीय डिब मान लामाले अन्नपुर्णलाई जानकारी दिए।‘माथिल्लो घुम्तीबाट बस तीव्र गतिमा आएको थियो। बाटोमै भित्तापटी ठोकिएर पल्टिँदा नालीमा च्यापिएर धेरैको मृत्यु भएको देखिन्छ’, उनले भने। दुर्घटनापछि बनेपा–११ को गाउँ नै शोकमा डुबेको छ। मंगलबार साँझ करिब साढे ६ बजे बस दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गराएका थिए। प्रहरीले स्थानीयको सहयोगमा ट्रक र एम्बुलेन्समा घाइतेहरूलाई बनेपा र धुलिखेल पठाएको थियो। केही शव बसमुनि च्यापिरहेको अवस्थाबाट निकालिएको थियो।

प्रकाशित मिति: २०२२-१२-१४ , समय : ०८:५१:३१ , १ वर्ष अगाडि

error: Content is protected !!