०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दै

Aarya News Desk

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिक गर्न आयोगले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

आज नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ ।

आयोगले मंगलबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर नेकपा एमालेलाई त्रुटी सच्याउन थप मौका दिएकाले आज मात्रै नतिजा सार्वजनिक गर्ने तयारी भएपनि एमालेले प्रदेश १ र मधेश प्रदेश सभाका लागि समानुपातिकबाट निर्वाचित सदस्यहरुको सूची बुझाउँदा त्रुटी पाइएपछि आयोगले सच्याउन लगाएको थियो । एमालेले सूची सच्याएपछि आयोगले आज अन्तिम परिणाम सार्वजनिक गर्न लागेको हो ।

यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् । तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् ।प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकबाट ३२ सहित कूल ८९ सिट जितेको छ । दोस्रो दल बनेको नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिट जितेको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकबाट १४ सहित ३२ सिट जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौं दल बनेका छन् । रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सहित कूल २० सिट जितेको छ । प्रत्यक्ष र समानुपातिकमा समान ७/७ जितेको राप्रपाका कूल १४ सांसद रहने छन् । जसपाका प्रत्यक्षमा ७ र समानुपातिकबाट ५ गरी कूल १२ तथा जनमत पार्टीका प्रत्यक्षमा १ र समानुपातिकबाट ५ गरी कूल ६ सदस्य प्रतिनिधि सभामा रहने छन् ।

प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड नकटाएकाले समानुपातिकबाट एक सिट पनि पाएनन् ।

प्रकाशित मिति: २०२२-१२-१४ , समय : १०:४३:३३ , १ वर्ष अगाडि

error: Content is protected !!