१३ बैशाख २०८१, बिहिबार
2024-04-25

प्याब्सन बिराट कप फुटबल प्रतियोगिता हुने

राजीव कुशवाहा

विराटनगर।विराटनगरमा प्याब्सन बिराट कप फुटबल प्रतियोगिता हुने भएको छ। प्याब्सन विराटनगरको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको हो ।

२०७६ सालदेखि सुरु भएको प्रतियोगिता कोरोना महामारीले गर्दा लगातार २ वर्ष स्थगित भएको प्याब्सन विराट फुटबल प्रतियोगिता यसवर्ष आयोजना गरिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि विराटनगरको शहीद रंगशालामा पुस १ गते देखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्याब्सन आवद्ध विद्यालयबाट ३० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

पहिलो संस्करण आयोजना भएपनि २०७७ र २०७८ सालमा भने कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो। प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत १७ वर्षदेखि मुनिका खेलाडीले सहभागिता जनाउन पाउने बुढाथोकीले जानकारी दिनुभयो।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार मूल्य बराबरको रनिङ शिल्डसहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्ने उनले बताए। बुढाथोकीका अनुसार उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम संयोजक नन्दलाल मण्डलले बताउनुभयो ।

संयोजक मण्डलका अनुसार विद्यार्थीलाई फुटबल खेलप्रति अभिरुची जगाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने दृढ संकल्प र विश्वासका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। ‘फुटबलमा नयाँ आयामका लागि ‘प्याब्सनको सान र गौरवको लागि प्याब्सन विराट कप’ भन्ने नाराका साथ २०७६ साल अर्थात पहिलो वर्ष प्याब्सन विराट कप भएपनि कोरोना महामारीका कारण प्रतियोगिताले निरन्तरता पाउन सकेको थिएन,’ मण्डलले भने, ‘अब अवस्था सहज भइसकेको छ, प्रतियोगिताले निरन्तरता पाउने छ ।’

प्याब्सन बिराट कप खेल नकआउटका आधारमा खेलाइने छ ।

 

प्रकाशित मिति: २०२२-१२-१४ , समय : २०:५६:०७ , १ वर्ष अगाडि

error: Content is protected !!