०५ बैशाख २०८१, बुधबार
2024-04-17

सुनसरीको कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परे

Aarya News Desk

सुनसरी । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए ।

रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।

हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउँछन् ।

वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गरिने वा सदगद गर्नेबारे प्रक्रिया सुरु हुने रेन्जर भण्डारीले बताए ।

केही दिन अघिदेखि सो क्षेत्रमा २०–२५ वटा हात्ती समूहमा घुमिरहेको देखेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : १२:१८:५३ , १ वर्ष अगाडि

error: Content is protected !!