१५ चैत्र २०८०, बिहिबार
2024-03-28

श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई जन्मकैद

Aarya News Desk

राजविराज। श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई जन्मकैद सजाय गरेको छ। राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्मकैद सजाय गरेको हो।

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ।

राजबिराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरीबस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीतालाई हिरालालले हत्या गरेका थिए।

राजविराज नगरपालिका–१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मङ्सिर १० गते शव फेला परेको थियो। आरोपित मङ्सिर १० गते नै पक्राउ परेका थिए।

मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मङ्सिर १० गते किटानी उजुरी दिएका थिए।

आरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : २१:१२:४१ , १ वर्ष अगाडि

error: Content is protected !!