०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

स–साना कलीला नानीबाबु सान्ता क्लजको सिकार बन्ने बढे

Aarya News Desk

देवानगंज। नेपालमा पछिल्लो समय स–साना कलीला नानीबाबु सान्ता क्लजको सिकार बन्ने बढेको छ। पछिल्लो केही वर्षयता विदेशी मुद्राको प्रलोभमा विद्यालयका स–साना कलीला नानीबाबुलाई सान्ता क्लज बनाउने बढेको छ। जिंगल बेल बजाउँदै इसाई धुनमा नचाइँदै छ ।

क्रिसमसको दिन नजिकिएसँगै विद्यालयमा सान्ता क्लजको पोषाक लगाएर आउने होड चलाइन्छ । थप के–के सिकाइन्छ कुन्नी, तर कतिपय कलिला बालबालिका त घर आएर पनि आमाबाबुलाई प्लास्टिकको रूख राख्न, त्यसलाई सजाउन, त्यसमा झोला अथवा मोजा झुन्डाइदिन लाउँछन् । ती कालीला सन्ततिको मनमा अझ के अन्धविश्वास पनि बाँडिएको हुन्छ भने त्यस झोलामा २५ डिसेम्बर रति सान्ता क्लज आएर ती साना बालबलिकाले चाहेको, मनपराएको उपहार राखिदिनेछन् । घरमा राख्न नलगाए स्कुलमै यस्तो व्यवस्था पनि गरिइन्छ ।

स्कुलको क्रिसमस ट्रीमा उपहार कसले राख्छ त? सामान्यतः प्राइवेट बोर्डिङ स्कुल विद्यादानका लागिभन्दा पनि व्यवसायका लागि खोलिएको हुन्छ । विद्यालय सञ्चालन गर्ने प्रतिष्ठानलाई कम्पनीको रूपमा दर्ता गरिएको हुन्छ । अतः महँगा उपहार स्कुलले आफैं व्यवस्था गर्ने त कुरै भएन । अधिकांश प्राइवेट विद्यालयले त अभिभावकका नाममा आफै चिठी काटेर आफ्ना नानी–बाबुलाई ‘सान्ता क्लज’को पोषाकमा पठाइदिन आग्रहसम्म गरेको पाइएको छ । र, पत्राचारको भाषा त्यतिमै टुङ्गिदैन । त्यहाँ अभिभावकले विद्यालयलाई उपहार पनि उपलब्ध गराउन आग्रह गरिएको हुन्छ । अभिभावकले सुटुक्क दिएको त्यही उपहार क्रिसमसका दिन सान्ता क्लजले दिएको उपहार भनी बालबालिकालाई दिइन्छ । यसमा विद्यालयको कुनै लगानी हुँदैन, उल्टै अभिभावकलाई आर्थिक भार थप्दछ ।

चाहे घरमा होस् या स्कुलमा, जहाँ पनि अभिभावकलाई नै मार पर्ने न हो । तर यस्तो कार्यबाट के विश्वास दृढ़ पारिँदैछ भने सान्ता क्लज वास्तवमै आउँछ । ऊ कलीला नानीहरूलाई माया गर्ने सन्त हो । यसरी ऊ प्रिय बन्दै गएको छ । यसरी सान्ता वर्षेनी पर्खिइने पात्र बनाइँदैछ ।

यस्तो कार्य कसरी हुँदै छ त ? कसको इसारामा हुँदैछ?

कि त हामी यति विचरा छौं कि हामीसँग मनाउन–योग्य चाडपर्वको खडेरी छ ।
कि यति अवैज्ञानिक छ हाम्रो सोच कि निरन्तर अक्सिजन दिने पीपल र सबैभन्दा उपयोगी तुलसीको पूजन गर्ने शिक्षा दिनुको साटो प्लास्टिक, फाइबर इत्यादिबाट बनेको रूखको हामी सजावट र पूजन गर्न जायज ठान्छौँ । अझ विद्यालयबाटै यस्तो अवैज्ञानिक शिक्षा त्यो पनि प्रयोगपूर्वक दिइन्छ ।
कि त हामीसँग सन्तहरूको पो खडेरी छ कि, जसको जीवन र आदर्शको शिक्षा दिनुभन्दा ‘हुँदै नभएको सान्ता’लाई बालमष्तिष्कमा जीवन्त बनाउनतिर लागेका छौँ !
अनभिज्ञता, अज्ञानताको सिकार बनेर यस्तो कार्यमा लाग्नु घातक नै भए पनि भिन्नै कुरो हो । तर अन्धविश्वासपूर्ण यस्ता पाखण्डी कार्य यदि कसैको इसारामा हुँदैछ भने त्यो षडयन्त्र हो । यस्ता क्रियाकलापद्वारा बालबलिकालाई विधर्मीको षड्यन्त्रको सिकार बनाइँदै त छैन ?
वास्तवमा न त हामी यति विपन्न छौँ कि हामीसँग मनाउनका लागि पर्वको खडेरी होस् ।

हामी संसारमै सबैभन्दा धेरै चाड–पर्व भएको सम्पन्न संस्कृतिका धनी हौँ । हाम्रो संस्कृति विज्ञानसम्मत छ, चाहे कालगणना अर्थात् समयको मापनको कुरामा होस् या वृक्ष–वनस्पतिको सेवाको सन्दर्भमा होस् ।

हामी पर्यावरण प्रेमी हौँ । प्रकृतिका रक्षक र पोषक हौँ । यसैले हामी वृक्ष–वनस्पतिलाई पूजा गछौँ ।

हामीसित सन्त–महापुरुषको अभाव पनि छैन । विश्व परिदृश्यमा सर्वोत्कृष्ट विचार दर्शनका प्रणेतादेखि लिएर महानतम मानवतासेवी आदर्श सन्तहरू, महापुरुष, वैज्ञानिक, विचारकहरू सनातन हिन्दू धर्मले जन्माएको छ ।

वास्तविक कुरो के हो भने हामी आफ्नो गौरवलाई हेर्न छोडेर विदेशी–विधर्मीको सिको गर्नतिर तम्सिएका हौँ । आफ्नो महानता र गुरुतालाई लत्याएर विदेशी अन्धविश्वासलाई मलजल गर्नतिर समर्पित भएका छौँ ।

कलीला बालबालिकालाई पनि स्वर्ग जाने भेडो बनाउन, यस्तै लहलहैमा कुबाटोतिर लगाउँदैछौँ । के यो विचारणीय छैन ?

गरिनु पर्ने के हो ?

स्कुल ‘इसाई–कूल’ होइन, गुरुकुल बनून् ।

बरु विद्यालयले तुलसी, पीपल, गाई जस्ता मानवोपयोगी, पर्यावरणका लागि उपयुक्त वस्तुबारे सम्यक जानकारी दिने क्रियाकलाप गराउँदा बेस हुन्थ्यो ।

स्वधर्म–संस्कृतिप्रति गर्व गर्न सकुन्, यस्तो शिक्षा आफ्नो धर्म–संस्कृतिबारे दिने कार्यक्रम ल्याए सबैतिरबाट स्वीकार्य हुनेथियो ।

योगशिक्षालाई पाठ्यक्रममा समावेश गरेर स्वस्थ र सुन्दर व्यक्तित्व निर्माणमा योगदान पुर्‍याउने कार्य गरे स्वदेशका निम्ति एउटा सार्थक योगदान हुनेथियो ।

यता ध्यान दिन छोडेर बालबालिकाका मुहारलाई सेता जुँगा र दारीले छपक्कै छोप्दै रातो टोपी र गाउनमा झिल्के बनाउने कार्य गर्दा कहाँबाट निर्मित हुन्छन् यहाँको माटोलाई माया गर्ने सन्तती ?

यसबारे समयमै ध्यान नदिए हामी मोक्षमार्गीलाई धर्मान्तरणकारीले स्वर्गसम्म जाने भेडोमा सीमित पार्न अवश्य सफल हुनेछन् ।

भाइ–भाइबीच फुट ल्याउने कार्य गर्ने, परिवार तोड्ने तत्वका हातबाट नेपालमा विद्वेष र विखण्डनको भयङ्कर खेल नहोला भन्न सकिन्न । यस्ता दाउपेचका लागि कदाचित स्कुललाई माध्यम बनाएर हाम्रा बालबालिकालाई हतियार त बनाइँदै छैन ? ध्यान जाओस् ।

प्रकाशित मिति: २०२२-१२-२४ , समय : १२:०३:१६ , १ वर्ष अगाडि

error: Content is protected !!