११ बैशाख २०८१, मंगलबार
2024-04-23

नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बधाई दिए

Aarya News Desk

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन्। देउवाले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलिफोनमार्फत बधाई दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्ण महराले प्रचण्डलाई देउवाले बधाई दिएको जानकारी दिएका हुन् ।

बालुवाटारमा देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डले गरेको प्रस्ताव अस्वीकार गरेपछि उनी बालकोट पुगेका थिए। लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनको सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ। आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ। प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।

प्रकाशित मिति: २०२२-१२-२६ , समय : ११:०१:१६ , १ वर्ष अगाडि

error: Content is protected !!