२१ बैशाख २०८१, शुक्रबार
2024-05-03

साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्स देखिए

Aarya News Desk

काठमाडौं। साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्स देखिएको छ। नयाँ सरकार गठन भएसँगै सेयर बजारमा चमक देखिएको थियो। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलले पद बहालीपछि पुँजी बजार सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका थिए।

सेयर बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएपनि सरकार गठनसँगै सेयर बजार चम्किएपछि लगानीकर्ता हौसिएका थिए। लामो समयदेखि ओरालो लागेको सेयर बजारले एक्कासी उचाइ लिएपछि डुबेको लगानी उठ्‍छ कि भन्ने आशमा लगानीकर्ताहरु छन्।

तर, बुधबार फेरि बजार ओरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक असर परेको छ।

आइतबार,सोमबार र मंगलबार तीनदिन लगातार बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको हो। नेप्से परिसूचक ११.८१ अंकले घटेर १९२७.१५ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज २ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भयो।

यसअघि सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ९ करोड बराबरको सेयर कारोबार भएको थियो। कारोबारको तेस्रो दिन मंगलबार नेप्से ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८८करोड ४३ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

बुधबार २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको सेयर कारोबार भयो। ३९ हजार ६६० पटक सेयर कारोबार भयो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये ५ समूहको बढ्यो भने ८ समूहको घट्यो। फाइनान्स, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स समूहको सूचक बढेको हो।

आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा नवील बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ८ करोड ८५ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

यस्तै, ८ करोड ४९ लाख मूल्यको सेयर कारोबार गरी रिडी पावर कम्पनी दोस्रो स्थानमा रह्यो।

प्रकाशित मिति: २०२२-१२-२८ , समय : १६:०१:०१ , १ वर्ष अगाडि

error: Content is protected !!