०५ जेठ २०८१, शनिबार
2024-05-18

किर्ते नागरिकता बनाउने वडाध्यक्ष रहमान मियाँलाई जेल

Aarya News Desk

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ आइतबार जेल चलान भएका छन्।

सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी नरेशकुमार सिंहले बताए।

मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको उनीमाथि आरोप लागेको छ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मियाँ दोस्रो पटक गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

वैशाख ३० गतेको निर्वाचनमा उनको वडामा विवाद भई कुटपिट हुँदा स्थगित भएको निर्वाचन जेठ १ गते कडा सुरक्षाका बीच सम्पन्न भएको थियो।

निर्वाध रूपमा चुनावी प्रचारप्रसारमा सहभागी उनले प्रहरीकै उपस्थितिमा निर्वाचित भएको प्रमाणपत्र लिएर दोस्रो कार्यकाल सुरु गरे। प्रहरी प्रतिवेदनमा भने मियाँ लिखत सम्बन्धी कसुर र नागरिकता किर्तेमा फरार सूचीमा थिए।

आर्थिक वर्ष ०७४/७५ देखि ०७७/७८ सम्म ७८ जनाको नाममा किर्ते कागजात पेस गरी सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको आरोपमा वडाध्यक्ष मियाँसहित २१ जनामाथि मुद्दा चलिरहेको छ।

यो प्रकरणमा ८३ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना भएको छ। उक्त घटनामा वडाध्यक्ष मियाँसहित २१ जनालाई प्रतिवादी बनाएर २०७७ असोज २२ गते मुद्दा दर्ता भएको छ।

२१ जनाले एक आपसमा मिलेमतो गरी एक अर्कालाई फाइदा पुर्‍याउने उद्देश्यले सो काम गरेका जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : २१:२९:२३ , १ वर्ष अगाडि

error: Content is protected !!