०८ बैशाख २०८१, शनिबार
2024-04-20

देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुने : प्रधानमन्त्री प्रचण्ड

Aarya News Desk

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीपूर्ण परिस्थितिमा नयाँ सरकार गठन भएको बताएका छन्। सहिद दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित भएको बताएका छन्।

उनले एकपटक सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आव्हान गरेका छन्। ‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित छ।’जारी शुभकामना सन्देशमा भनिएको छ,‘ आजको यस ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित फेरि एकपटक सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न म सबैमा हार्दिक आव्हान गर्दछु। ’

बलिदानको उच्च सम्मानका साथ सहिदहरूको सपनालाई साकार पार्ने कार्यमा सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक भएको उनको भनाई छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। शुभकामना सन्देशमार्फत प्रचण्डले भनेका छन्,‘सहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामवद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने संकल्प गर्न म आम जनसमुदायमा हार्दिक अपील गर्दै जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु। ’

देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुने प्रधानमन्त्रीको विश्वास छ।

तानाशाही र निरंकुश व्यवस्थाका विरूद्ध संघर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूको बलिदानी भएको दिनलाई सहिद दिवसको रूपमा स्मरण गर्दै आएका सन्देशमा उल्लेख छ। आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रचण्डले बेपत्ता योद्धाहरूको स्मरण र आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गरेका छन्।

देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुने प्रधानमन्त्रीको विश्वास छ। उनले भनेका छन्, ‘राणाकाल सुरू हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत् नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत् देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु।’

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

प्रकाशित मिति: २०२३-०१-३० , समय : ०९:१२:०८ , १ वर्ष अगाडि

error: Content is protected !!