
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले नेताहरूलाई गाली नगर्ने जनता नै नभएको बताएका छन् । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै राउतले राजनीतिक दलप्रति जनताको चरम असन्तुष्टि रहेको बताएका हुन् ।
राउतले भने,‘म इमान्दार छु भन्दैमा जनताले मत हाल्दैनन् । राजनीतिक दलहरूप्रति वितृष्णा छ । नेतालाई गाली नगर्ने जनता छैनन् जस्तो लाग्छ । जनताले राजनीतिक पार्टीमा आवद्ध भएपनि असन्तुष्टि जाहेर गर्दै आएका छन् ।’
वैकल्पिक राजनीतिले आफ्नो बाटो किन लैजान सकेन त ? यो अहम प्रश्न रहेको बताए । राउतले भने,‘चरम भ्रष्टाचार छ,कुशासन छ,तर वैकल्पिक शक्तिले जनताको आवाज क्यास गर्न सकेन । कतै न कतै वैकल्पिक शक्तिहरू ल्याबमा गरिएको परीक्षण जस्तो त भइरहेको छैन ।’
उनले राजनीति टिकाउन गमलामा राखेको गुलाबजस्तो नभएर जंगलमा उम्रेको गुलाबजस्तो हुनुपर्ने टिप्पणी गरे। ‘राजनीतिमा टिक्नका लागि गमलामा राखेको गुलाब जस्तोले पुग्दैन,जंगलमा राखेको गुलाब जस्तो हुनुपर्छ,’उनले भने।
प्रकाशित मिति: २०२३-०२-१० , समय : १६:५१:०१ , २ महिना अगाडि