२३ बैशाख २०८१, आइतबार
2024-05-05

विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने गराउने पहिलो दायित्व विव्यसको भएको–सुनिल कुशवाहा

राधेश्याम कुशवाहा

सर्लाही । जलधर कमलदेव नमूना माध्यमिक विद्यालय, ब्रह्मपुरी गापा–१, सर्लाहीद्वारा आयोजित नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बधाई तथा स्वागत कार्यक्रममा विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाइका सुनिल कुशवाहाले नवगठित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने गराउने पहिलो दायित्व विद्यालय व्यवस्थापन समितिको भएको बताएका छन ।

उहाँले विद्यालय व्यवस्थापन समितिको सकारात्मक र रचनात्मक भूमिकाले मात्र सफल विद्यालयको कल्पना गर्न सक्ने बताए । उहाँले शिक्षकको टिमवर्क र मेहनत, नियमित शिक्षक कर्मचारी बैठक, विद्यार्थी केन्द्रित शिक्षण सिकाइ, प्रधानाध्यापकको कुशल नेतृत्व, सक्षम व्यवस्थापन समिति, अभिभावकसँग निरन्तर अन्तरक्रिया, विद्यार्थीको निरन्तर मूल्यांकन, विद्यालयमै कोचिङ्ग कक्षा सञ्चालन, श्रव्यदृष्य शैक्षिक सामग्रीको प्रयोग लगायतका क्रियाकलापको निरन्तरताले जुन सुकै विद्यालय सफल विद्यालय बन्न सक्ने बताए ।

उहाँले नवगठित विद्यालय व्यवस्थापन समितिले प्रत्येक वर्ष अभिभावक भेला गरि गराई विद्यालयको अघिल्लो शैक्षिक वर्षको आय–व्यय र शैक्षिक उपलब्धीको समिक्षा गरी आगामी वर्षको ठोस शैक्षिक कार्यक्रम निर्माण, विद्यालयलाई आवश्यक आर्थिक स्रोत जुटाई विद्यालयको स्रोतबाट बेहोर्ने गरी नियुक्ति शिक्षक कर्मचारीलाई नेपाल सरकारले समान तहका लागि तोकिदिएको तलब स्केलमा नघटाई तलबभत्ता व्यवस्थापन, शैक्षिक स्तरवृद्घि गर्न श्रव्यदृष्य शैक्षिक सामग्रीको प्रयोग, शिक्षक विद्यार्थी आंचारसंहिता पालना र विद्यार्थी संख्याको आधारमा शिक्षक व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । उहाँले पूर्वप्रधानाध्यापक रामेश्वर प्रसाद यादवको विशेष पहलमा यो विद्यालय नमूना भएको स्मरण गराउदैं जिल्लामा एक मात्र माध्यमिक तहका महिला शिक्षकले यस विद्यालयको नेतृत्व गर्ने निमित्त प्रधानाध्यापकको जिम्मेवारीमा रहेकोले उदाहरणीय विद्यालय बनाउन शुभकामना दिनु भयो ।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक विनिता कुमारी साहले विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहयोग र समन्वयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए । उहाँले विद्यालयको सार्वाङ्गिण विकासमा सम्बन्धित पक्षको सकारात्मक एवं रचनात्मक सहयोग अपरिहार्य हुने खाँचो औल्याए । कार्यक्रम ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहको प्रमुख आतिथ्यता र निमित्त प्रधानाध्यापक विनिता कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साह, शिक्षा विकास तथा समन्वय इकाइका सुनिल कुशवाहा, ब्रह्मपुरी गाउँपालिका, शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख राजीव कुमार शर्मा, वडाध्यक्ष निरन्जन प्रसाद कलवार, नवगठित विव्यसका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०२-१० , समय : १६:५६:३७ , १ वर्ष अगाडि

error: Content is protected !!