राजनीतिक , आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुने : राष्ट्रपति भण्डारी

Aarya News

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुने बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रण हुने धारणा राखेकी हुन्।

‘राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक नेतृत्वको सङ्गठित एवं एकताबद्ध प्रयासले भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गर्न सकिन्छ।’ उनले भनिन्, ‘आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराइ भ्रष्टाचार नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । राजनीतिक नेतृत्वले जनभावनाको कदर गर्दै नागरिकको भरोसा अभिवृद्धि गर्नुपर्छ ।’

उनले सार्वजनिक खरिद ऐनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउने बताउँदै राष्ट्रपति भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको धारणा राखिन्। उनले भनिन्, ‘संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । यद्यपि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुँदा सम्पूर्ण सरोकारवाला पक्षहरू एकजुट हुन जरुरी छ ।’

मुलुकको उच्चतम हित र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्युनिकरण हुँदै जाने उनको विश्वास छ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : १३:५५:०५ , १० महिना अगाडि

error: Content is protected !!