१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

मोरङ्को रंगेली नगरपालिकामा स्थगित भएको मतगणना पुनः सुरु

आर्य न्युज

बिराटनगर ०२ जेष्ठ । मोरङको रंगेली नगरपालिकामा? शनिबार राति ९ बजेदेखि स्थगित भएको मतगणना साझ ५ बजेदेखि सुरु भएको छ । वडा नं. १, २ र ३ को ३ हजार १३२ मत गणना गरेपछि भएको विवादले रंगेलीमा मतगणना रोकिएको थियो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आज आफैं रंगेली पुगेर स्थगित भएको गणना सुरु गर्न दलहरूलाई आग्रह गरेका थिए । थपलियाले मतगणनाका क्रममा उत्पन्न विवादका विषयमा छलफलबाटै समस्या समाधान गर्ने र गणनालाई सुरु गर्ने सहमति भएको जानकारी दिनुभयो ।
सहमतिपछि जनता क्याम्पस रंगेलीमा मतगणना सुरु गर्न लागिएको जनाइएको छ । जुन अवस्थामा गणना रोकिएको छ त्यहि अवस्थामा सुरु गर्ने सहमति भएको थपलियाले जानकारी दिनुभयो । रंगेलीको वडा नम्बर ८ को मतपेटिकामा एकातर्फको एउटा सिल टुटेको पाइएपछि नेपाली कांग्रेसका मतगणना प्रतिनिधिहरूले विरोध जनाएका थिए ।
त्यसपछि अवरुद्ध भएको मतगणना ४४ घण्टापछि सुचारु हुन लागेको जनाइएको छ । तीन स्थानमा भइरहेको मतगणनालाई विस्तार गरेर पाँच स्थानमा गणना गर्ने समेत छलफलमा सहमति भएको छ ।
छलफलमा नेपाली कांग्रेसका मेयरका उमेदवार मोदराज घिमिरे, नेकपा एमालेका उम्मेदवार दिलीप बगडिया, नेकपा (माओवादी) का उमेदवार रफिक आलम, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, रंगेलीका निर्वाचन अधिकृत रामहरि काफ्ले लगायत सहभागी थिए

प्रकाशित मिति: २०२२-०५-१६ , समय : १७:५२:३३ , २ वर्ष अगाडि

error: Content is protected !!