मिटर ब्याजी पीडित किसानका समस्या समाधान गर्न गृहसचिवलाई प्रधानमन्त्रीको निर्देशन

Aarya News

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याजी पीडित किसानका समस्या समाधान गर्न गृहसचिवलाई निर्देशन दिएका छन्। महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न र घर फर्किने वातावरण बनाउन गृहसचिवमार्फत् प्रधानमन्त्री ‘प्रचण्ड’ले निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

सोही निर्देशन बमोजिम मकवानपुरका सीडीओ राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीका विरुद्ध सरकारले मुद्धा पनि चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

सीडीओ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताएका थिए ।

किसानले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरूलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न र सवारीको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका थिए।

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानुनको मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले ३ सय ५० जना मिटर ब्याजीहरूलाई कारबाही नै गरिसकेको छ।

प्रेस संयोजनक शर्माले भने, ‘प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपरान्ह बस्ने मन्त्रिपरिषद् ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ र आजभोलि नै त्यो कानुन संसदमा दर्ता हुन जान्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ।’

प्रकाशित मिति: २०२३-०३-२४ , समय : ११:१६:०८ , ३ महिना अगाडि

error: Content is protected !!