१५ बैशाख २०८१, शनिबार
2024-04-27

लघुवित्तको ऋण मिनाहा गरिदिने भन्दै प्रहरीकै अगाडी ऋणीहरुबाट पैसा उठाईदै

Aarya News

सुनसरी। पछिल्लो समय आफुलाई अभियान्ता भन्दै बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध आन्दोलन थालेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लघुवित्तको ऋण मिनाहा गराउने भन्दै रकम संकलन गरेको पाइएको छ । प्रसाईंले गाउँगाउँमा आफ्ना कार्यकर्ताहरु पठाएर २० लाखसम्म कर्जा मिनाहा गराउने भन्दै पैसा संकलन गरेको पाइएको छ ।

आइतबार लघुवित्त वित्तीय पिडित संघर्ष समितिका नाममा दुहवी वडा नं. ११ तनमुना पासवान गाउँमा लघुवित्तका ग्राहकहरुबाट पैसा उठाउन उनीहरु आएका थिए । ५ जनाको समुहमा आएका उनीहरुले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएकाहरुबाट एक एक हजार संकलन गरेका थिए ।

दुर्गा प्रसाईको आन्दोलनको अभियान्ता भएको भन्दै अपरान्ह करिब २ः३० बजेतिर आएका उनीहरुले देशैभरी लघुवित्त वित्तीय संस्थाका विरुद्ध लागेको बताएका छन् । नेपाल राष्ट्र बैंकले समेत देशभरीबाट लघुवित्त संस्थाबाट पिडित भएकाहरुको तथ्यांक संकलन गरेर ल्याउन भनेकाले गाउँगाउँ हिँडेको उनीहरुको तर्क छ । ‘देशैभरी वित्तिय संस्थाहरुले ज्यादती गरेकोले नेपाल राष्ट्र बैंकले तपाईंहरुसँग कति छन् डाटा संकलन गरेर ल्याउनु होस् भनेकोले आएका हौं ।’ आफुलाई संघर्ष समितिको कोशी प्रदेशको उपाध्यक्ष भनेर चिनाएका बेलका नगरपालिका वडा नं. ३ उदयपुरका जयराम माझीले बताए ।

उनीहरुले नागरिकताको फोटोकपी, फोटो एकप्रति सहित फारम भराएर रकम संकलन गरेका छन् । रकम बुझिलिएको रसिद भने दिएका छैनन् । संगठित रुपमा पैसा उठाउनेहरुमा संघर्ष समितिको कोशी प्रदेशको उपाध्यक्ष भनेर चिनाउने माझीसहित उदयपुर नेपालटारका सुजता राई, गीता बास्कोटा, खनार सुनसरीका घनश्याम चौधरी, गढी २ सुनसरीकी मोनिका चौधरी रहेका छन् ।

उनीहरुले प्रहरीकै सामने खुलेआम पैसा उठाइरहेका छन् । प्रहरीले सामान्य सोधपुछ पनि गरेको छैन । प्रहरी चौकी तनमुनाका असई ताराकुमार श्रेष्ठ रकम संकलन गरिरहेको बेला गएपनि मुकदर्शक बने । उनीसँगै तनमुना प्रहरी चाैकीका अन्य प्रहरीहरू समेत उपस्थित थिए ।

नेपाल राष्ट्र बैंकका कार्यवाहक प्रवक्ता नारायण प्रसाद पोखरेलले कुनैपनि व्यक्ति, समुहलाई लघुवित्त पिडितको तथ्यांक संकलन गर्न भनेर नपठाइएको बताए । यदी कुनै व्यक्ति समुहले त्यस्तो कार्यगरे गृह प्रशासनले तुरुन्त रोक्नुपर्ने बताउँदै त्यस्ता व्यक्ति र समुहको विस्वास नगर्न पनि सुझाए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले ऋण मिनाहा गराउने भन्दै पैसा उठाउनेहरुलाई आवश्यक कारवाही गरिने बताए । प्रहरीकै संलग्नतामा त्यस्ता गतिविधि भएको पाइए उक्त प्रहरीलाई तुरुन्त निलम्बन गर्ने र कारवाही गरिने बताए ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : ११:१८:४० , १ वर्ष अगाडि

error: Content is protected !!