०४ बैशाख २०८१, मंगलबार
2024-04-16

जीवनका सात चक्र

Aarya News Desk

चक्रहरू भन्नाले पूर्वीय योग दर्शनमा शरीरभित्र सुषुम्ना नाडीमा अवस्थित सातवटा केन्द्रलाई बुझाउँछ। ती केन्द्र तन्त्रयोगमा मात्र वा हिन्दू धर्ममा मात्र सीमित रहेनन्। विश्वव्यापी रूपमा विभिन्न प्रकारले फैलिन थाले। बीसौं शताब्दीको सुरुआतमै स्विस नागरिक कार्ल गुस्ताभ युङको मनोविज्ञानमा आबद्ध भए। उनलाई प्रभाव परेको थियो, संस्कृतको ग्रन्थ युङचक्र निरूपणको आर्थर एभलान (जोन उडरुफ) को अनुवाद पढेपछि। सन् १९११ मा उडरुफले गरेको ५५ श्लोकको अनुवाद पढेपछि आश्चर्यचकित परे। उनै युङ आन्तरिक परिवर्तनबाट मानिसले आफूले रोगमात्र निको पार्ने होइन कि जीवन नै परिवर्तन गरेर ईश्वरीय आनन्द प्राप्त गर्न सक्छ भन्ने निर्णयमा समेत पुगे।

चक्र विज्ञानबाट अति प्रभावित युङ अन्तत :  अध्यात्मले हरेक व्यक्तिलाई व्यक्तिगत वा सामूहिक अवचेतन मनले चेतन मनमा परिर्वतन ल्याउँछ भन्ने निष्कर्षमा पनि पुगे। साथै मनबाट चेतना र चेतनाबाट आत्मसंयमको अनुभव दिन सक्छ भनी १९३२ को अक्टुबरमा ‘द साइकोलोजी अफ कुण्डलिनी योग’ भन्दै विश्वव्यापी प्रवचन दिन थाले। उनका प्रवचनको सँगालो नै कुण्डलिनी योग र चक्रबारे विश्वमा एउटा अमूल्य निधिको रूपमा स्थापित छ।

सन् १९३२ मै उनले अर्काे अनुवाद प्राप्त गरे। त्यो पुस्तक थियो, प्रोफेसर हुवरको ‘पातञ्जल योग सूत्र’को अंग्रेजी अनुवाद। हुवर अनुवादमा भन्छन्, ‘कुण्डलिनी शक्ति पश्चिमले पटक्कै बुझेको छैन तर पूर्वका मानिसले अष्टाङ्ग योगको प्रयोगद्वारा बुद्धत्व प्राप्त गरेका छन्। त्यसको प्रयोगबाट हिन्दूले कुण्डलिनी ऊर्जाले भौतिक र आध्यात्मिक दुवै विकास गरेको थियो।’

सहस्रारमा त केवल ब्रह्मज्ञान मात्र हुन्छ। यहाँ केवल शून्य, निर्वाण वा बुद्धत्त्वमात्र अस्तित्वमा रहन्छ। सैद्धान्तिक महत्त्व समाप्त भई ब्रम्हत्त्वमात्र बोध हुन्छ। यो बोधपछि योगीका सामुमा देखिने हरेक वृक्ष, वनस्पति, पृथ्वी, वायु, जल, आकाश वा ब्रह्माण्डका सबै तत्त्व आफैंमा समाहित भएको बोध हुन्छ। आफूबाहेक अर्काे छुट्टै अस्तित्व नै रहँदैन।

यो महाऊर्जा शक्तिको प्रयोग हराउन लाग्दा पुन :  बुद्धले यसको उत्थान गरेको कुराले युङलाई अझ अचम्मित पारेको थियो। अझ थप कुरा दिएको थियो। ईशु ख्रिष्टले सो ऊर्जा प्राप्त गरेपछि भनेका थिए– इसाई धर्मावलम्बीले पनि कुण्डलिनी ऊर्जा शक्ति गुमाएका छन्। त्यसैले हिन्दूहरूको सहयोगले यो शक्ति पुन :  स्थापित गरेर मानव कल्याणमा लाग्नुबाहेक विकल्प छैन। यसरी कुण्डलिनी, ऊर्जा र चक्रहरूको रहस्य बोध भएपछि युङले सातवटै चक्र, यसमा रहेका मन्त्र र देवदेवीको प्रयोगलाई मनोविश्लेषणात्मक ढंगले व्याख्या गरेका छन्। स्थुल शरीरमा मात्र आधारित मानव जबसम्म सूक्ष्म शरीरमा अन्तरनिहित चक्रमा अवस्थित ऊर्जा शक्ति बुझ्न सक्दैन, तबसम्म मानिस समस्यामा परिरहन्छ। त्यसैले पूर्वीय योगको चक्र विज्ञानलाई बुझेर सार्थक जीवन विकास गर्न आवश्यक छ भन्दै प्रत्येक चक्रको रहस्य यसरी व्याख्या गर्छन्।

पहिलो चक्र  :  पहिलो चक्र मूलधारमा अवस्थित कुण्डलिनी शक्तिको उजागरबिना मानिस सचेत रहन सक्दैन। यसको प्रयोगबिना सांसारिक भ्रमबाहेक केही हुन्न। मानिसमा स्नायुविचार, अन्धकार र अज्ञानता हुन्छ। त्यसैले दु : ख र पीडाको चपेटामा परिरहन्छ। यिनै सांसारिक यातनाले मानिस तनावमा फस्छ। मनरोग (स्किजोफ्रेनिया) जस्ता महारोगको सिकार बन्छ। यो चक्र अविकसित भएका कारण आधुनिक मानव गाँस, बास, कपास र सहवासमा फसेको छ। नाम, दाम, सम्मानको खोजीमा राजनीतिक सफलता नै सबैभन्दा उत्कृष्ट पहिचान हो भन्ठान्छ। तर, आन्तरिक कुण्डलिनी ऊर्जा शक्तिको ज्ञान नहुनाले मानसिक रूपमा मानव भौतिक सम्पन्न हुँदा र नहुँदा पनि चिन्तित छ। दु : ख निवारणका निमित्त यस शक्तिबाट विमुख हुनु हुन्न।

प्रत्येक अक्षरबीच मन्त्र र योग ध्यानको माध्यम अपनाएर नयाँ संसारको रचना अपरिहार्य छ। युङका अनुसार योग, ध्यान केवल मस्तिष्कको ज्ञानमा मात्र सीमित छैन, यो त प्रयोगमा आधारित छ। क्रियामा आबद्ध छ। हृदयको करुणा र स्नेहमा अन्तरनिहित छ। आज विज्ञानले केवल मस्तिष्क वृद्धि गर्ने ज्ञान दिन्छ। तर यसले हृदयमा प्रेम शून्य पारी अहंकार मात्र बढाइदिएको छ। अत :  मूलधारमा संकेतरूपी शिवलिंग र शक्ति वा ऊर्जारूपी कमलपत्रको (शिव+शक्ति) वा वीर्य शक्ति + कुण्डलिनी (पद्य) ऊर्जा निस्तेज छ। अब यस ऊर्जा शक्तिलाई उर्ध गतिमा विकास गरी नवमानव विकास गर्ने यात्रामा लाग्नुपर्छ। पृथ्वी तत्त्वको रूपमा रहेको मूलधार चक्रमा यस्तो ऊर्जा छ। जसले भौतिक उन्नति गर्नुका साथै मानसिक विकास गरेर मानवलाई उत्कृष्टतातिर यात्रा गराउँछ। आन्तरिक ज्ञान र बाह्य ज्ञानले मानव आनन्दको जीवन प्राप्त गर्न सक्छ।

दोस्रो चक्र  :  पृथ्वीको अपार शक्ति प्राप्त मूलधार चक्रको उर्ध गमनले कुण्डलिनी ऊर्जा शक्तिलाई दोस्रो चक्र स्वाधिरणमा लैजान मद्दत गर्छ। यो चक्रलाई युङले समुद्ररूपी केन्द्र मानेका छन्। ऊर्जा यहाँ पुग्दा यस चक्रमा अंकित गोहीले उर्ध गतिमा जान चुनौती दिने कुरा बुझिन्छ। मनोविज्ञानमा यो पानी र गोहीको संकेतले मानवको पुरानो मूलाधाररूपी भौतिक जगत्को अहंकार समाप्त पार्छ र नयाँ जीवन सुरुआत गर्न मद्दत गर्छ। बाइबलमा उल्लेख भएका आदमको मनोविज्ञान यहाँ समाप्त हुन्छ। व्याप्टिजम (पानीमा डुबाएर नामकरण) गर्ने संस्कारले नयाँ जीवन वा पुनर्जन्म प्राप्त हुन्छ।

पुनर्जन्म हुन नसक्नुको कारण सांसारिक जीवनको सुखदु : खको भुँमरीबाट मानसिक चेतना उर्धगतिमा लैजान नसक्नु हो। यस्तो अवस्थामा मानिस पशुझैं जन्मन्छ र मर्छ वा पानीमा डुब्छ वा गोहीको सिकार बन्छ। तर योगध्यानका साधनाले मानसिक प्रगति गर्ने मूलाधारको अन्धकारलाई समाप्त पार्छ। त्यसपछि स्वाधिष्ठानबाट अध्यात्मको उदय हुन्छ। त्यसपछि मानिसले आफ्ना भावनारूपी सकारात्मक स्वप्नहरू बुन्न सुरु गर्छ। युङका अनुसार योगमा कुण्डलिनी जागरण भनिन्छ। इसाई धर्ममा (व्याप्टिजम) यी दुवैबाट दैवी शक्ति प्राप्त हुन्छ। यसरी भौतिक जीवनसँगै मानिसले आध्यात्मिक जीवनको यात्रा तय गर्छ।

तेस्रो चक्र  :  तेस्रो चक्र मणिपुरलाई युङले प्रकाश, ज्योति, मणि वा सूर्य चक्रको रूपमा व्याख्या गरेका छन्। यसलाई अग्निकुण्ड वा अल्केमीको संज्ञा पनि दिएका छन्। पेटमा अवस्थित यो नाभीचक्रको जागरणपछि मानिस बलियो बनी शारीरिक रूपमा सबल भएको महसुस गर्छ। हिराकिल्टस्को भनाइ उद्धृत गर्दै युङले मणिपुर चक्रको जागरणपछि मानिसले युद्धरूपी ऊर्जा प्राप्त गर्छ। भौतिक रूपमा एउटा शूरवीर लडाकु र आध्यात्मिक रूपमा मानसिक रूपले सजग र सबल हुने उनले उल्लेख गरेका छन्। यो चक्रको उदय भएपछि मानिसको अध्यात्ममा प्रकाश यात्रा सुरु हुन्छ। मनोवैज्ञानिक रूपमा असाधारण स्वरूप देखाउन थाल्छ। जस्तै :  मानसिक विक्षिप्त बन्दै पुराना कुरा खोतलेर भावविह्वल हुने, च्याठ्ठिने, झगडा गर्ने आदि।

भौतिक रूपमा यो चक्रको ऊर्जाले जठर अग्नि प्रदीप्त गर्छ, (पाकशालाको रूपमा) अनि खाना पचाउँछ। अल्केमीको भूमिका साधारण कुरालाई उत्कृष्ट कुरामा परिवर्तन गर्ने शक्ति प्रदान गर्छ। यो प्रयोगशालारूपी चक्र अल्केमीको सहयोग लिँदै नराम्रा विचारलाई प्रशोधन गर्दै उत्कृष्ट विचार सिर्जना गर्छ। सही किसिमका इच्छा र कामना पूर्ति गर्न उद्यत् रहन्छ। यो चक्र कमजोर रहँदा ज्यादै डर लाग्ने, धेरै सोच्ने गर्नाले अपच वा जन्डिसजस्ता रोग पनि लाग्न सक्छ। अथवा, यो चक्रको नकारात्मक प्रभावले पेट, आन्द्रासम्बन्धी विविध रोग पनि लाग्न सक्छ। यो चक्रमा रहुञ्जेल तल्ला चक्र स्वाधिष्ठान, मूलाधारतिर झर्ने सम्भावना हुन्छ। तर, ध्यानको प्रयोगले यो चक्रको ऊर्जा सकारात्मक बनेर मनोभावना दृढ हुने र चेतना उर्ध गतिमा जाने सम्भावना पनि प्रशस्त रहन्छ।

कार्ल गुस्ताभ युङको कुण्डलिनी ज्ञानको अति गहिरो खोज हुन्छ। पूरै अभ्यास गरेर अरूका निमित्ता लाभ दिने उद्देश्यले कुण्डलिनी ऊर्जा शक्तिलाई मनोविज्ञानको अभिन्न अंग बनाए। हामी पनि भौतिक जीवनको सुविधा लिँदै आध्यात्मिक जीवन अँगालौं र आनन्द प्राप्त गरौं।

चौथो चक्र  :  युङले चौथो चक्र अनाहतलाई आत्म केन्द्र मानेका छन्। प्रेम र भावनाको यो ऊर्जा केन्द्रलाई शिक्षाको पहिलो क्रममा राख्दै मानव जीवनमा हृदय बुझ्ने शिक्षा आवश्यक रहेको कुरा उल्लेख गर्छन्। मस्तिष्कमा प्रभाव पार्ने आजको शिक्षा हृदय बुझ्न वा प्रेम आदानप्रदान गर्न नसक्ने समेत तर्क गरिएको छ। स्नेह र प्रेमले चल्नुपर्ने मानव सभ्यता मस्तिष्कले चल्न थालेपछि मानवभित्र अन्तरनिहित दैवी शक्तिको ऊर्जा नै शत्रुरूपी शक्तिमा परिणत हुँदा द्वन्द्व र युद्धमा विश्व भासिएको देखिन्छ। अनाहत चक्रको प्रभाव बाइबलमा समेत परेको र जर्मनी इसाईको भक्तिलाई उद्धृत गर्दै ‘मसँग मेरो मात्र जीवन छैन, अपितु क्राइष्ट मभित्र अन्तरनिहित छन्’ भन्दै भक्तिभाव ईश्वरमा राख्ने सेन्टपललाई महामानव मानेका छन्। उनी वादविवादपूर्ण सामान्य मान्छेभन्दा उत्कृष्ट मानव हुन्।

बाइबलमा हृदय खुलेको दैवीशक्तिले भरिएको मानव बनाउने सिद्धान्त छ। उनी त्यसको व्यावहारिक अभ्यास हुन हृदय चक्र खुल्नु पर्छ भन्छन्। यस चक्रमा अंकित बाह्रसिंगे जरायोलाई हावामा उडैझैं गर्न सक्ने केवल थोरै पृथ्वीको सहारामात्र चाहिने भएकाले पश्चिमेली संकेत युनिकोर्न (पवित्र आत्मा)सँग तुलना गरिएको छ। ग्रिसेलीहरू अनाहत चक्रलाई चेतना वा वायु भन्छन्। त्यस्तै हिब्रुहरू रुच (आत्मा) चक्र भन्छन्। अत :  अनाहत चक्रको ऊर्जा सकारात्मक बनाउन योग र ध्यानको आवश्यकता छ।

पाँचौं चक्र  :  पृथ्वी, जल, अग्नि र वायु यी चार तत्त्वका चार चक्रको मनोवैज्ञानिक खोजपछि युङले पाँचौं विशुद्धि चक्रलाई छुट्टै प्रकारले व्याख्या गरेका छन्। कण्ठनली वा स्वरयन्त्रमा अवस्थित विशुद्धि चक्र उच्च विचारको केन्द्र मानिन्छ। युङका अनुसार दैनिक जीवनमा आवश्यक पार्ने विचारभन्दा फरक उत्कृष्ट विचार वा ज्ञानलाई विशुद्धि चक्रको सकारात्मक ऊर्जाले मात्र सम्भव छ। अझ यसले आन्तरिक चेतनासँग सम्बन्ध राख्छ भनिएको छ। यो चक्रमा आकाश तत्त्व अवस्थित छ। प्रसिद्ध दार्शनिक कान्टको ‘क्रिटिक्स अफ पुअर रिजनमा’ उल्लेख गरिएको तार्किक क्षेत्रको सैद्धान्तिक क्षेत्र प्रस्ट हुन यो चक्रको सहाराबिना सयौं वर्षमा पनि सम्भव नभएको उल्लेख छ। भौतिक आँखाले देख्न असम्भव कुरा विशुद्धि चक्रको ऊर्जाबिना मानिसले प्राप्त गर्न सक्दैन।

छैटौं चक्र  :  युङले पञ्चतत्त्वको प्रभाव भएका माथि उल्लिखित चक्रमा व्याख्या गरेपछि कुनै पनि जनावरको संकेत उल्लेख नगरिएको छैटौं चक्र आज्ञाको बारेमा लेखेका छन्। यो चक्र मानिसको दुईवटा आँखीभुईं बीचमा छ। चराका दुईवटा पखेटा फिँजाएर रहेको ‘ओङ’ बीज मन्त्र अंकित आज्ञा चक्र नामअनुसार अन्य उसभन्दा तलका चक्रलाई आदेश वा आज्ञा प्रदान गर्छ। त्यसैले यसलाई गुरु चक्र पनि भनिन्छ। यसले अरू चक्रलाई ऊर्जा प्रवाह गरी आआफ्नो कार्य गर्न लगाउँछ। आआफ्ना कार्य समाप्त गरेपछि सुषुम्नामा अन्तरनिहित पाँचवटै चक्रले आज्ञा चक्रमा जानकारी पनि दिनुपर्छ।

यो चक्र हेर्दा शक्तिको ऊर्जा प्रवाह गर्ने स्त्री जनेन्द्रीय जस्तो देखिन्छ। जसमा इतर लिंग स्वरूप मूर्ति अंकित छ, त्यो ज्यादै प्रकाश स्वरूप प्रज्वल्लित छ। यो आज्ञा चक्र यिनै चिह्नले अंकित भएकाले नै तैजस वा हिरण्य गर्भ प्रवेश द्धार मानिन्छ। यहाँबाट अमृत रसास्वादन गर्न पाइन्छ, यसैले यसलाई पूर्ण चक्र भनिन्छ। यसबाट हरेक योगीलाई आत्मबोध हुन्छ र कुण्डलिनी ऊर्जा सर्वशक्तिमान बनेर ईश्वरीय तत्त्वको खोजीमा अहोरात्र तल्लीन हुन्छ। फलत :  योगी परमात्मा अनुभूति गर्न सफल बन्दछ।

सातौं चक्र  :  युङले प्रज्वलितद्वार आज्ञा चक्रलाई व्याख्या गरेपछि सातौं चक्र वा अन्तिम चक्र सहस्रारलाई प्रकाश पार्दछन्। सहस्रार शरीरको उच्च भागमा अवस्थित शिरमा रहेको छ। यो चक्र सहस्र वा हजार पत्रले बनेको कमलको फूलजस्तो देखिनाले सहस्रार भनिएको हो। युङले यस चक्रबारे कुनै कुरा शब्दमा व्याख्या गर्न अतिशयोक्ति हुन्छ भनेका छन्। किनभने यस चक्रमा विचार शून्य हुन्छ। विचार शून्य भएपछि मनुष्यमा कुनै भाव नै पैदा हुँदैन। अत :  यसलाई कुनै शाब्दिक व्याख्या गर्नै सकिन्न।

ईश्वरीय बोधको यात्रा छैटौं यात्रामा समाप्त हुन्छ। सहस्रारमा त केवल ब्रह्मज्ञान मात्र हुन्छ। केवल शून्य, निर्वाण वा बुद्धतत्त्वमात्र अस्तित्वमा रहन्छ। सैद्धान्तिक महत्त्व समाप्त भई ब्रम्हत्त्वमात्र बोध हुन्छ। यसरी मूलधारबाट सुरु भएको कुण्डलिनी ऊर्जा सहस्रार चक्रमा पुगेर ब्रह्मबोधमा परिणत हुन्छ। यो बोधपछि योगीका सामुमा देखिने हरेक वृक्ष, वनस्पति, पृथ्वी, वायु, जल, आकाश वा ब्रह्माण्डका सबै तत्त्व आफैंमा समाहित भएको बोध हुन्छ। यो चैतन्यमय अद्वितीय भावमा उच्च कोटीको आनन्द प्राप्त हुन्छ।

कार्ल गुस्ताभ युङको कुण्डलिनी ज्ञान यसरी व्याख्या गरिएको पाइन्छ। उनले अति गहिरो खोजमात्र होइन, पूरै अभ्यास गरेर अरूका निमित्त लाभ दिने उद्देश्यले कुण्डलिनी ऊर्जा शक्तिलाई मनोविज्ञानको एउटा अभिन्न अंग बनाएका छन्। यी कुरालाई प्रयोगमा ल्याई हामी पनि भौतिक जीवनको सुविधा लिँदै आध्यात्मिक जीवन अंगालौं र आनन्द प्राप्त गरौं।

प्रकाशित मिति: २०२३-०४-१५ , समय : ११:४३:३५ , १ वर्ष अगाडि

error: Content is protected !!