०८ बैशाख २०८१, शनिबार
2024-04-20

सरकारले निजामतीमा दुई तह थप्ने

Aarya News Desk

काठमाडौँ । सरकारले निजामतीमा दुई तह थप्ने तयारी गरेको छ । हाल १२ औँ र १३ औँ तहको पदलाई विशिष्ट श्रेणीको सचिव मानिँदै आएकोमा अब दुई तह थपेर १३ औँ,१४ औँ र १५ औँ तहसम्म पुर्‍याउने प्रस्ताव सङ्घीय निजामती सेवा ऐनमा गरिएको छ ।

प्रस्तावित मस्यौदाको दफा नम्बर ६ मा,श्रेणी र पदसम्बन्धी व्यवस्था गरिएको छ । सो दफाले निजामती सेवा ऐनमा थप दुई तह थपेर १५ औँ तहसम्म पुर्‍याउने प्रस्ताव गरिएको हो । अहिले तहगतमा रहेका स्थानीय तह,प्रदेशलाई मिलाउनका साथै सेना प्रहरीको पदमा समेत एकरूपता कायम गर्न यो प्रस्ताव गरिएको सरोकारवालाहरूले जनाएका छन् ।

मस्यौदामा अधिकृत बाह्रौँ तहमा बहाल रहेका निजामती कर्मचारी ऐन प्रारम्भ भएपछि अधिकृत तेह्रौँ तहमा कायम गरिने उल्लेख गरिएको छ । यस्तै माथिल्लो तहमा बढुवा हुँदा अधिकृत बाह्रौँ तहको पदमा बहाल रहेको अवधिलाईसमेत हालको पदको अवधिमा गणना गर्ने बुँदा हालिएको छ ।

यस्तै राजपत्राङ्कित प्रथम श्रेणीलाई अधिकृत एघारौँ र बाह्रौँ बनाइएको छ भने राजपत्राङ्कित द्वितीय श्रेणीलाई अधिकृत दसौँ र नवौँ कायम गरिएको छ । राजपत्राङ्कित तृतीय श्रेणीलाई अधिकृत छैटौँ, सातौँ र आठौँ बनाइएको छ । राजपत्र अनङ्कित प्रथमलाई सहायक पाँचौँ, द्वितीयलाई सहायक चौथो र तृतीयलाई सहायक तेस्रोमा लगिएको छ । चतुर्थ र पाँचौँ भने गणना गरिएको छैन ।

राजपत्र अनङ्कित तृतीय श्रेणी र सहायक तेस्रो तहमा कुनै निजामती कर्मचारीको पदाधिकार नरहेमा सो पद स्वतः खारेज हुने विधेयकको मस्यौदामा उल्लेख छ । अहिले तहगतमा रहेका र सेना प्रहरीको पदमा समेत एकरूपता कायम गर्न यो प्रस्ताव ठिक रहेको बहालवाला कर्मचारीहरूको तर्क छ ।

प्रकाशित मिति: २०२३-०४-१५ , समय : १३:५२:४१ , १ वर्ष अगाडि

error: Content is protected !!