०३ जेठ २०८१, बिहिबार
2024-05-16

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न तीनै तह लाग्नुपर्छः सांसद भगबती चौधरी

Aarya News

देवानगञ्ज । बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने सांसद भगबती चौधरीले बताएकी छन् । सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् ।

गृहजिल्ला सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा नं. १ मा गत माघ १७ गते आफैंले शिलान्याश गरेको नवदुर्गा माध्यामिक विद्यालयको भवन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेकी चौधरीले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेमा भविष्यमा समाज र देशको विकासमा ठूलो टेवा पुग्ने बताइन् । ‘२१ औं शताब्दीमा शिक्षाको अति महत्व छ, बालबालिकाहरुलाई आज राम्रो शिक्षा दिन सकियो भने भोलीका दिनमा देश र समाजका लागि ठूलो पुग्छ ।’ ८ कोठे नवनिर्मित भवन निर्माण भइसकेपछि अब सो क्षेत्रका बालबालिकाहरुले चुहिने छानोमा बसेर पढ्नु पर्ने बाध्यता हटेको बताइन् ।

भवन निर्माणमा संलग्न विद्यालय व्यवस्थापन समिति, स्थानीय, प्रदेश सरकार, तराई मधेश समृद्धि कार्यक्रमलाई धन्यवाद दिँदै सांसद चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र जनताका हरेक समस्याहरुमा आफु सदैव लाग्ने प्रतिबद्धता जनाइन् । कार्यक्रमको विशिष्ट अतिथि कोशी प्रदेश सांसद रामदेव यादव रहेका थिए । उनले बालबालिकाहरुलाई स्तरीय शिक्षा दिन आफु लागि पर्ने बताए ।

कार्यक्रममा गढी गाउँपालिकाकी उपप्रमुख नितुकुमारी चौधरी, ६ वटै वडाका वडाध्यक्ष, गाउँपालिकाका प्रशासकीय अधिकृत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय र विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता बर्जु गाउँपालिका अध्यक्ष जिवछ रायले गरेका थिए ।

उक्त विद्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारको १ करोड, संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमको ३० लाख तथा बर्जु गाउँपालिकाको ४८ लाख बजेट विनियोजन गरेका थिए । १ करोड ७८ लाख ५ हजार ६० रुपैंयामा निर्माण भएको भवन १७४ दिनमा तयार भएको हो । भवन कटहरी ३ मोरङको उत्तरा कन्ट्रक्सन एण्ड सप्लायर्सले निर्माणको ठेक्का पाएको थियो ।

प्रकाशित मिति: २०२३-०८-२८ , समय : २२:२१:०४ , ९ महिना अगाडि

error: Content is protected !!