बिद्युत प्राधिकरण ईनरुवाका फोरम्यान महतो घुस रकम सहित पक्राउ

सुरेन्द्र कुशवाहा

इनरुवा । सुनसरीको इनरुवा स्थित नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतोलाई सेवाग्राहीसंग घुस लिएको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।

प्राधिकरणबाट उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले महतोलाई मंगलबार पक्राउ गरेको हो ।

विर्जु कुमार महतोलाई सेवाग्राहीबाट घुस वापत लिएको २५ हजार रुपियाँ रकम लिइसकेको अवस्थामा ईनरुवा नगरपालिका वडा नं. ३ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०९-०५ , समय : २१:२४:११ , ३ महिना अगाडि

error: Content is protected !!