२३ बैशाख २०८१, आइतबार
2024-05-05

सरकार हुँ म

आर्य न्युज /Aarya News

देशी विदेशी दलालसामु सधैं घुँडा टेक्नैपर्ने लाचार हुँ म ।

राष्ट्रिय स्वाधीनताको रक्षार्थ पनि अघि नसर्ने धिक्कार हुँ म ।

जनता कुट्ने देशको ढुकुटी लुट्ने परम्पराको सिकार हुँ म ।

तर पनि जनतालाई वेवकूफ बनाउन सफल चमत्कार हुँ म ।

 

असहाय अबलाको दरकार नसुन्ने सबल दुत्कार हुँ म ।

सँधै आफ्नै देश र जनतालाई झुक्याउने चीत्कार हुँ म ।

कौडीमा किनेर करोडौँमा बेच्ने घाटाको व्यापार हुँ म ।

आफ्नै कानको सुन पनि नचिन्ने खै कस्तो सुनार हुँ म ।

 

आँखै अगाडि सिमाना मिच्दा पनि नदेख्ने अन्धो हुँ म ।

दिनहुँ बढ्ने महँगी, लुट र भ्रष्टाचार नदेख्ने रतन्धो हुँ म ।

किन कि कर र कानुनको आडमा मनपरी गर्ने जानकार हुँ म

आफ्नै देशको जनता ठग्दै हिँड्ने छद्मभेषी मकार हुँ म ।

 

पीडितको घाउमा मलहमको सट्टा पोल्ने पिरो अचार हुँ म ।

समाज, देश र जनताको सेवक नामक झूठा प्रचार हुँ म ।

आफ्नै देशमा बदलाव र विकास गर्न नसक्ने विकार हुँ म ।

हो ! संविधान नमान्ने ७६१ ओटा संवैधानिक सरकार हुँ म ।

 

लेखक – चन्द्र भुषण साह 

प्रकाशित मिति: २०२३-०९-२५ , समय : ०८:३३:५९ , ७ महिना अगाडि

error: Content is protected !!