२३ बैशाख २०८१, आइतबार
2024-05-05

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउनेलाई कानूनी कारबाही गर्न महासंघको माग

आर्य न्युज /Aarya News

देवानगञ्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउनेलाई कानूनी कारबाही गर्न विश्व हिन्दु महासंघले माग गरेको छ ।

विश्व हिन्दु महासंघमा आवद्ध रहेका र महासंघप्रति सद्भाव राख्ने नेपालमा क्रियाशील विभिन्न धार्मिक संघसंस्थाहरुको सोमबार बसेको बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउने उद्देश्यले दिनहु झैं हिन्दु ॐ कार परिवारलाई चाेट पुर्‍याउने गरी गरिएका उच्छृङ्खल एवम् अराजक गतिविधिकाे भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरेको हो ।

धरान र झापामा भएको गौहत्या एवम् गोमांस भक्षणको जघन्य अपराधको घटनापछि देशभर सबैतिरबाट उठेका सनातन हिन्दु समाजका सद्भाव र्‍याली र कार्यक्रमलाई उच्च सम्मान गरेको बताउँदै महासंघले गौहत्यारा र गोमांस भक्षणमा संलग्न अपराधीलाई कडा कानूनी कारबाहीको माग गरेको छ ।

महासंघले दिनानु दिन झै एक पछि अर्को आक्रमणका घटनाहरु बढेर गई रहेको अवस्थामा सामाजिक एवम् धार्मिक द्वेष फैलाउने र हिन्दु धर्मावलम्बीहरुकाे भावनामा चाेट पुर्‍याउने घटनाको सम्बन्धमा सरकार मुकदर्शक भएर बसेकाे आरोप लगाएको छ । महासंघले नेपालमा क्रियाशील धार्मिक संघसंस्था, सन्त, महन्त , मठाधिश र पिठाधिस एवम् अभियन्ताहरुलाई एकताबद्ध हुन आह्वान गरेको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वको रथयात्रा र मूर्ति विसर्जनका क्रममा भएको भौतिक आक्रमण, राैतहटमा पुजारीमाथिको सांघातिक आक्रमणलगायत देशका विभिन्न स्थानमा हिन्दु धर्मावलम्बीहरुमाथि भएका अराजक गतिविधिकाे घोर भत्सर्ना गर्दै घटनामा संलग्न अपराधीलाई कडा कानूनी कारबाही गरी घाइतेको नि:शुल्क औषधि उपचारको व्यवस्था गर्न र क्षति भएको धनसम्पत्तिको पूर्ति गर्न सरकारसँग माग गरिएको महासंघकी कार्यवहाक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन् ।

यस्तै महासंघले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालहरुमा धार्मिक सामाजिक सद्भावना बिथोल्ने अनर्गल उत्तेजित सामग्री सम्प्रेषण भइरहेको बताउँदै यस्ता धार्मिक, आध्यात्मिक, समाजिक एवम् जातीय विद्वेष बढाउने प्रचार सामग्री प्रेषित गर्नेकाे पहिचान गरी त्यसता सामाजिक सञ्जाल आइडीलाई तत्काल बन्द गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति: २०२३-०९-२६ , समय : २०:३४:२९ , ७ महिना अगाडि

error: Content is protected !!