०२ जेठ २०८१, बुधबार
2024-05-15

मतदाता शिक्षा कार्यक्रमको अभाव : बदर मत प्रतिशत धेरै हुने सम्भावना

आर्य न्युज

सङ्खुवासभा । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको सङ्ख्या बढ्ने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको हो ।

स्थानीय तहको निर्वाचनमा मतदान गर्नुपर्ने उम्मेदवारको सङ्ख्या धेरै हुने तर मतदाताले थोरैलाई मात्र मतदान गर्ने गरेको पाइएको छ । एउटा पालिकामा सात जनालाई भोट दिनुपर्ने तर सो कुरा धेरैलाई थाहा नहुने भएको हुँदा त्यस्तो हुने गरेको अघिल्लो निर्वाचनमा सहायक निर्वाचन अधिकृत भएर काम गर्नुभएका रामराज पौडेलको भनाइ छ । धेरै मतदाताले सुरुको मतदान चिह्नमा छाप लगाएर पछिकोमा नलगाउने गरेको पाइएको पौडेलले अनुभव सुनाउनुभयो ।

यस वर्ष सत्तासिन दलले छिटपुटबाहेकका स्थानीय तहमा आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेगरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो । गठबन्धन गर्ने दलको उम्मेदवार नभएको पालिकामा मतदान चिह्न हुने गरेकोले मत खेरजाने सम्भावना रहेको छ । सङ्खुवासभामा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले पालिकास्तरमा र उक्त दलहरूसहित जनता समाजवादी पार्टीले वडास्तरमा गठबन्धन गरेका छन् । यस वर्षको निर्वाचनका लागि हालसम्म मतदाता शिक्षा कार्यक्रम माथिल्लो निकायबाट प्राप्त नभएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख जयप्रकाश बस्नेतले जानकारी दिनुभयो ।

अघिल्ला निर्वाचनमा स्थानीय रेडियो तथा सञ्चार माध्यमबाट सन्देश मूलक सामग्री प्रसारण गरिने गरेकोमा यस पटक हालसम्म त्यस्ता कार्यक्रम नगरिएको बताउनुभयो । मतदान गर्ने अवधि अझै दुई हप्ता बाँकी रहेकोले कार्यक्रम आए प्रभावकारी ढङ्गबाट सञ्चालन गरिनेसमेत बस्नेतले बताउनुभयो । हालसम्म नमूना मतदान कार्यक्रम गर्ने भन्ने मात्र आएको र सो कार्यक्रम शून्य समय सुरु हुनु केही दिनअघि सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: २०२२-०४-२९ , समय : ००:००:०९ , २ वर्ष अगाडि

error: Content is protected !!