काठमाडौं । सांसद भगबती चौधरीले शिक्षा विधेयकले शिक्षक, विद्यार्थीहरुको समग्र माग र विषय संवोधन गर्न नसकेको बताएकी छन् । शुक्रबार संसदमा शिक्षा विधेयक २०८० माथि बोल्दै सांसद चौधरीले विधेयकले केही समय अगाडी मात्रै आन्दोलनरत शिक्षकहरुका माग र मुद्दा समेत नसमेटेको भन्दै विधेयकमाथि पुनः छलफल चलाईनुपर्ने बताइन् ।
‘शिक्षा विधेयक कसको लागि ल्याउँदैछौं, कस्तो हुनुपर्ने, शिक्षा विधेयकमा प्राथमिक, माध्यामिक तहको शिक्षा कस्तो हुनुपर्ने, त्यहाँको जनशक्ति कसरी ब्यवस्थापन गर्ने भन्ने विषय नआइकन शिक्षकहरुले आन्दोलन गरेकोले शिक्षकहरुले उठाएका माग र मुद्दा समेटिन पर्छ ।’ सांसद चौधरीले सरकारले शिक्षकहरुसँग गरेको सम्झौताहरु संसदमा टेवुल गर्नुपर्ने बताउँदै भनिन् ।
शिक्षा विधेयकमा सरोकारवालाहरुसँग छलफल नहुँदा नेपालको शिक्षा नीति कमजोर बनेको बताउँदै सांसद चौधरीले अहिले नेपालको शिक्षा कस्तो छ भन्ने कुरा सबैले बुझि सकेको पनि बताइन् । उत्पादनमुखी, गुणस्तरीय, शिक्षक, बालबालिका केन्द्रीत कस्तो शिक्षा प्रणाली हो, मेथोलोजी कस्तो छ भन्ने विषय विधेयकमै तय भएर आउनु पर्ने बताउँदै चौधरीले विधेयक संसदमा पुनः टेवुल हुनुपर्नेमा जोड दिइन् ।
यसअघि संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले चाडपर्वका बेला हुने कालोबजारी, महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराईन् । चाडपर्वका बेला बजार अनुगमन र मुल्यांकन प्रभावकारी बनाउनु पर्ने चौधरीको माग छ । यस्तै उनले मिटरब्याज पिडितका लागि न्याय सम्पादनमा सरकारको ध्यानाकर्षण गराईन् ।
प्रकाशित मिति: २०२३-१०-०६ , समय : २०:५७:२७ , ११ महिना अगाडि