२५ बैशाख २०८१, मंगलबार
2024-05-07

मृत्युदण्डको पर्खाइमा तीन नेपाली

आर्य न्युज /Aarya News

दोहा । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् ।

साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला भएर दूतावासमा जानकारी आएको बताए ।

मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरू कुन अपराधमा दोषी देखिएको र उनीहरूको नाम के के हो त्यो भने केही खुलाइएको छैन । गतवर्ष पनि दुई नेपालीलाई मृत्युदण्डको सजाय तोकेकोमा मृत्युदण्ड कार्यान्वयन भएको उनले बताए ।

उनका अनुसार हालसम्म थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएका छन् । दूतावासले जेलभित्र करिब ३० नेपालीसँग अन्तक्र्रिया गर्दा अधिकांश नेपालीकै कारण नै नेपालीहरू जेल पर्ने गरेको पाइएको उनले बताए ।

कतिपय साउदी पुगेको ६ महिनामै अरूको लहलहैमा लागेर जेल पर्ने गरेको पाइएको छ । साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो । तर, यहाँको कानुन कडा छ । नियम कानुन’ तर थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठुलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।

पक्राउ परेका केहीले साउदी प्रहरीलाई नै घुस खुवाउन खोजेको पाइएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी कार्कीको भनाइ छ । गतवर्ष दूतावासमार्फत ५ हजार ६ सय नेपालीलाई उद्धार गरी नेपाली फर्काइएको उनले बताए ।

डिपोटेसनमार्फत ५ हजार नेपालीलाई साउदीबाट डिपोर्ट गरिएको छ भने घरेलु कामदारका रूपमा कुवेत हुँदै साउदी पुगेका ३१ महिलालाई पनि उद्धार गरी स्वदेश फर्काइएको छ ।

गतवर्ष ५५ हजार ७ सय नेपाली श्रम स्वीकृति लिएर साउदी अरब पुगेका छन् । गतवर्ष २३५ नेपालीको मृत्यु भएकोमा प्रतिशत नेपालीको मृत्युको कारण भने सुतेको सुतै रहेको पाइएको छ । २० प्रतिशत आत्महत्या, अर्को २० प्रतिशत सडक दुर्घटना र बाँकी १० प्रतिशत अन्य विभिन्न कारण रहेका छन् ।

दूतावासका अनुसार साउदीमा करिब ४ लाखको संख्यामा नेपाली कामदार रहेकामा ४ हजार १७९ महिला, घरेलु कामदारको संख्या २ हजार ७९४, महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७९२ जना रहेको छ ।

– साभार राजधानी

 

प्रकाशित मिति: २०२३-१०-०९ , समय : ०८:२५:२५ , ७ महिना अगाडि

error: Content is protected !!