१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

प्रदेश १ को नामाकरण सहजीकरणका लागि एमाले ५ सदस्य समिति गठन

आर्य न्युज

विराटनगर जेष्ठ २६ गते । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ ।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजक रहेको ५ सदस्य नामकरण बारेमा छलफल गर्ने समिति बनाएको हो । समितिको सदस्यहरूमा जीवन घिमिरे, जगदीशप्रसाद कुसियैत, उषाकला राई र अर्जुन राईलाई राखिएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उक्त समितिले प्रदेश १ को नामको विषयमा आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउने र प्रदेशको नामाकरण गर्न पहल गर्ने जनाइएको छ ।

नाम टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएका कारण सत्ता पक्षले आफुहरूसँग रहेको सामान्य बहुमत अपर्याप्त हुने भएपछि एमालेको भूमिका खोजी भएको थियो । एमालेले भने सरकारले नामाकरण नगर्ने नियतका साथ सत्ता घटकको चौथौं दलका नेता यादवको नेतृत्वमा समिति गठन गरेको भन्दै आशंका व्यक्त गर्दै आएको थियो । तर सबै प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनु पर्ने चौतर्फी माग उठेपछि एमाले पनि नामाकरणका लागि सत्तामा रहेका दललहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने काम गर्ने जनाइएको छ ।

वर्तमान सरकारले जिल्लाहरूस्थित प्रदेश सरकार अन्तरगतका कार्यालयहरूको कटौती गरी मन्त्रीहरूले नै अधिकार राखेको आरोप लगाएको छ । त्यसका विरुद्ध सदनमा एमालेले कडा रुपमा आवाज उठाउने निर्णय भएको जनाइएको छ । यसअघि नै मन्त्री रहेका ४ जना सांसदलाई संसदीय समितिमा पठाउने निर्णय गरेको छ । पूर्व मुख्यमन्त्री शेरधन राईलाई सुशासन तथा योजना समिति, हिक्मत कुमार कार्कीलाई सार्वजनिक लेखा समिति, जगदीशप्रसाद कुसियैतलाई उद्योग पर्यटन तथा वातावरण समिति र जीवन घिमिरेलाई सामाजिक विकास समितिको सदस्यका रुपमा पठाउने निर्णय गरेको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए ।

 

प्रकाशित मिति: २०२२-०६-०९ , समय : १६:१३:०४ , २ वर्ष अगाडि

error: Content is protected !!