०८ आषाढ २०८१, शुक्रबार
2024-06-21

कोशी प्रदेशमा रहेको नेपाल–भारत सीमा स्तम्भको मर्मतसंभार तथा रंगरोगन कार्य सुरू

जुगेश दास

सुनसरी। सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशमा रहेको नेपाल–भारत सीमा स्तम्भको मर्मतसंभार तथा रंगरोगन कार्यको सुरूवात गरेको छ ।

सशस्त्र प्रहरी बलले दोस्रो चरण अन्तर्गत आज बिहिबार बाट सुनसरी सीमा स्तम्भ मर्मत सम्भारको कार्य सुरु गरेका छन् ।

सीमा स्तम्भ मर्मतसम्भार कार्य अन्तर्गत पहिलो चरण अन्तर्गत सशस्त्र प्रहरी बलले झापाले जिल्ला भित्रका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार कार्य थालिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय जनाएको छ ।

बिहीबार सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रुपमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ साविक कप्तानगञ्ज पाचौंअसिम्मरमा पर्ने १८९ नम्बर सहायक सीमा स्तम्भको रंगरोगन गरी कार्यको शुभारम्भ गरेका हुन् ।

पहिलो पटक अन्तराष्ट्रिय सीमा स्तम्भहरुको निर्माण, मर्मतसंभार र पुनर्स्थापनाको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरी कोशी प्रदेशको नेपाल भारत अन्तराष्ट्रिय सीमामा रहेको ४८४ वटा सीमा स्तम्भहरुको मर्मतसंभार गर्न लागिएको हो ।

यस अघि भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलले जोर नम्बरको ३४४ वटा सीमा स्तम्भहरुको मर्मतसंभार गरिसकेको छ ।

सीमा स्तम्भ मर्मतसंभार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापा जिल्लामा रहेको ३१७ वटा, मोरङ्ग जिल्लामा रहेको ३४ वटा र सुनसरी जिल्लाको अन्तराष्ट्रिय सीमामा रहेको १३३ वटा सीमा स्तम्भहरुको मर्मतसंभार कार्य गरिनेछ। ४८४ सीमा स्तम्भहरु मध्ये १९९ वटा सीमा स्तम्भको रंगरोगन, २२१ वटा सीमा स्तम्भको सामान्य मर्मत (२५% सम्म क्षति), ५९ वटा सीमा स्तम्भको मध्यम स्तरको मर्मत (२५ देखी ५०% सम्म क्षति) र ५ वटा सीमा स्तम्भको पुर्ण मर्मत (५०% देखी माथि क्षति) गरिनेछ ।

सीमा स्तम्भ मर्मत संभार बारे सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सीमा सुरक्षा बहुआयमिक विषय भएको र सीमा सुरक्षाको असली र वास्तविक पहरेदार सीमावासीहरु नै रहेको हुँदा स्थानिय जनताको साथ र सहयोग बिना सीमा सुरक्षा संभव नरहेको कुरा बताउनु भयो ।

साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनको लागी “सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा” अनुसार स्थानियहरुसंग सहकार्य गर्दै लैजाने योजना रहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले, सशस्त्र प्रहरी सुनसरीका प्रमुख लकेश कुमार तुम्वाहाम्फे, सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, भारतीय एसएसबीका सुरेन्द्र विक्रम, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजि गफार अन्सारी मियाँ , भोक्रराहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद , कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-१२-०८ , समय : ०८:५५:४४ , ७ महिना अगाडि

error: Content is protected !!