१७ बैशाख २०८१, सोमबार
2024-04-29

नियत सफा राखी सेवा गर्नेलाई कसैबाट डराउनु पर्दैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सम्वाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेलाई कसैबाट डराउनु नपर्ने बताएका छन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताकाे पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कसैबाट डराउनु नपर्ने र प्रदेश सरकार साथमा रहने बताएका हुन् ।

´प्रदेशमा अख्तियार दुरूपयाेग र अनियमितता राेक्न प्रदेश सरकारले चालू आर्थिक वर्षकाे अध्यादेशबाट आएकाे बजेटकाे प्रतिस्थापन विधेयक ल्याएर काम सुरू गरिसकेकाे छ`, उनले भने, ´प्रदेश सरकारले काेटेशनकाे काम र उपभाेक्ता समितिबाट कार्यकर्ता, आफ्न्त पाल्ने २५ लाखमुनिकाे याेजना कटाैति गरेर प्रदेशमा सुशासनकाे अभियान सुरू गरिसक्याे ।`

इमानदारीपूर्वक काम नगर्ने र कुनै किसिमकाे अनियमितता गर्ने कर्मचारी मात्रै नभइ मन्त्रीलाई समेत कारवाही हुने मुख्यमन्त्री कार्कीले चेतावनी दिएका छन् । ´अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग मुलुकमा सुशासन कायम गर्ने प्रमुख संस्था हाे त्यसैले आयाेगले प्रदेशमा कानून सम्मत कामकाज अघि बढाउन सहयाेग गरिदिनुपर्छ`, उनले भने, ´आयाेगले कानून कार्यान्वयनमा पथप्रदर्शककाे भूमिका निर्वाह गरिदिनु पर्छ ।`

सबैको खवरदारी गर्ने सम्मानित संस्था आयोग भएकाले समय सान्दर्भिक रुपमा यसलाई परिकृत गर्दै लग्नु पर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिएका छन् । ‘हामीले अहिलेको परिवेशमा सही नियतले जनतालाई सेवा दियौं भने हामीले डराउनुपर्ने कुनै कारण छैन`, उनले भने, ´अधिकारका कुरालाई सदुपयोग गर्ने कुरामा हामी लाग्नुपर्दछ । संविधान र कानून प्रदत्त अधिकार दुरुपयोग नहोस् भनेरै अख्तियारको परिकल्पना गरिएको हो ।’

अन्तरक्रिया कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुले आयोगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हैरानी खेप्नु परेको र काममा समेत ढिलासुस्ती हुने गरेको गुनासाे पाेखेका छन् । आयोगगको इटहरी कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा कोशी प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षमा अख्तियार दुरुपयोगका २ सय ११ वटा उजुरी परेको उल्लेख गरिएको छ । जसमा ८० उजुरी फर्छयौट हुँदा १ सय ३१ उजुरी बाँकी रहेको उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले कर्मचारीहरुले जनताको पैसाबाट सञ्चालन गरिने विकास निर्माण कार्य गुणस्तरीय एवं समयमै प्रतिफल प्राप्त हुनु पर्नेमा जोड दिएकी हुन् । उनले सार्वजनिक खरिद ऐन, कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै आयोगले ध्यानाकर्षण गराएका विषयको ख्याल गर्न आग्रह गरिन् ।

अन्तरक्रियामा संघीय तथा प्रदेश कार्यालयका कर्मचारी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका कर्मचारीहरु, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०१-०२ , समय : १९:५७:२१ , ४ महिना अगाडि

error: Content is protected !!