०८ आषाढ २०८१, शुक्रबार
2024-06-21

राजनीतिक दलका जुँगाको लडाई ! ज्यान गुमाए निर्दोष ! बरहथवा बजार रणभुमिमा परिणत

राधेश्याम कुशवाहा

बरहथवा, सर्लाही । सर्लाहीको पूर्व उत्तरी भेगमा रहेका बरहथवा नगरपालिका वडा नम्वर ६ मा रहेको १५ सैयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० सैंयाको अस्पतालमा स्तरोन्नति गर्ने कि नगर्ने विषयलाई लिएर राजनीतिक दलहरु अहिले दुई कित्तामा विभाजित भएपछि व्यापारिक सहरको बरहथवा बजार रणभूमिमा परिणत हुँदै गएका छन् ।

गत शुक्रबार बरहथवा नगरपालिकाले आव्हान गरेको सर्वपक्षीय बैठकलाई मेयर कल्पनाकुमारी कटुवालले स्थगित गरेपछि शान्तिपुर्ण आन्दोलन एकाएक उग्ररुप लियो । प्राथमिक स्वास्थ केन्द्रलाई मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग राख्दै आएका नेपाली कांग्रेस सहित पाँच दलले कार्यपालिकाको निर्णयको कार्यन्वयनको माग राख्दै नगरपालिकामा ढुगांमुठा गर्नुका साथै मेयर कटुवालको घरमा ढुंगामुढा सहित प्रदर्शन गर्दै घर अगाडी पाकिंग गरिएका जिपमा आगजनी गरेको थियो ।

मेयरको घरको अगाडि राखिएको भारतीय नम्बर प्लेटको जिपमा आगजनी गर्नुका साथै मालपोतका कर्मचारी चढेका सरकारी नम्बर प्लेटका एउटा सरकारी मोटरसाइकल खोसेर आगजनी गर्दा पुर्ण रुलमा जलेर नष्ट भयो । आन्दोलनको क्रममा प्रहरीले गोलि चलाउदा नेपाल विद्युत प्राधिकरण नजिकको चोर्निया पुलमा जयशंकर साह नाम गरेक एक निर्दोष युवकले ज्यान गुमाउदा एकल महिलाले आफनो होनहार एक्लो सन्तान गुमाउन पुगिन भने आन्दोलनको क्रममा लाखौं सम्पत्तीलाई क्षति पुर्याइयो ।

राजनीतिक दल जुँगाको लडाई बनाउदा एक निर्दोष होनहार उद्यमी युवकले ज्यान गुमाउनु पर्यो । भने यो पाली बुहारी भित्र्याउने सपना देखेकी आमाको एक्लो सन्तान गुमाउनुको पिडालाई शब्द मार्फत प्रस्तुत गर्न सक्दिनन् । यो घटनालाई लिएर पुरै बरहथवासी शोकमय बन्न पुग्यो र दिनहुुँ हजारौंको चहलपहल हुने बरहथवा बजार गत केही दिनदेखी सुनसान र उजाड देखिन थालेका छन ।

मधेस प्रदेश सरकारले प्राथमिक स्वास्थ केन्द्रलाई ५० सैंयाको अस्पतालमा स्तरोन्नति गरिने नीति तथा कार्यक्रम ल्याएपछि जनमानसामा प्रदेश सरकारलाई हस्तान्तरणको माग व्यापक उठदै गएपछि बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।

तर नगरप्रमुख कटुवालले कार्यपालिकाको निर्णयबाट पन्छिएपछी उद्योग वाणिज्य संघ बरहथवा सहित संयुक्त ५ दलले कार्यपालिकाको निर्णयको कार्यन्वयनको माग राख्दै शान्तिपुर्ण रुपमा विरोध रैलि गर्दै आएको थियो । एमाले, माओवादी सहित केही राजनीतिक व्यक्तिहरु स्वास्थ केन्द्र नगरकै मातहतमै हुनुपर्ने अडान लिएपछि विवाद सृजना भएको छ । गत पुष १२ गते नेकपा एमाले र माओवादी केन्द्र, बरहथवा–१ का वडाअध्यक्ष तथा लोसपाका नेता राकेश सहनी र स्वतन्त्र माछा समुहका लखेन्द्र महतोले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बरहथवा नगर अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय सवैधानिक ऐनको भावना र मर्म विपरीत बताएका थिए ।

बरहथवा नगर अस्पतालको ऐतिहासिक नाम र हालसम्म मधेस सरकारले प्रादेशिक अस्पताल संचालन सम्बन्धि कुनै ऐन नबनाएका कारण हचुवाको भरमा बरहथवा नगर अस्पताललाई प्रदेश सरकारलाई सुम्पिनु जनविरोधी र हास्यास्पद कार्यको संज्ञा दिएको थियो । मधेस प्रदेश सरकारले चाहेमा प्रादेशिक अस्पताल संचालन गर्न उपयुक्त स्थानमा बरहथवा नपाले मापदण्ड बमोजिम आवश्यक जग्गा उपलब्ध गराई दिन माग गरेको देखिन्छ ।

यता कार्यपालिका सदस्य महोम्मद अफताब आमलका अनुसार मधेस सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नगर अस्पताललाई ५० सैयाको अस्पतालमा स्तरोन्नति गर्न बजेट विनियोजन गरेको कारण नयाँ निर्माण गर्न नसकिने बताए । स्तरोन्नति गर्न बजेट दिएका कारण नयाँ ठाउँमा ५० सैयाका अस्पताल निर्माण गर्न सक्दैन, उनले भने । स्थानीय तहसंग प्राथमिक स्वास्थ केन्द्रलाई पनि मापदण्ड अनुसार संचालन गर्न स्रोत र साधनको अभाव हुदै आएका कारण प्रदेश सरकारलाई नै हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिदै आएका छन् ।

प्राथमिक स्वास्थ केन्द्र पनि कार्यविधि तथा निर्देशिका अनुसार संचालन तथा व्यवस्थापनका लागि बर्षेणी ५ करोड रुपियाको खर्च हुन्छ, तर नगरपालिका आन्तरिक आय श्रोत सहित २०–२२ करोड रुपिया मात्र विकास बजेट हुन्छ । त्यसमध्ये १० करोड भन्दा बढी रकम वडालाई नै जाने गर्दछन बाकी रहेको १२ करोडमा ५ करोड प्राथमिक स्वास्थ केन्द्रलाई दियो भने प्रत्येक वडाहरुमा आधाभुत स्वास्थ केन्द्र छन र विद्यालय, बाटोघाटो, मठमन्दिर, विधुत, कृषि तथा सिचाइ जस्ता महत्वपूर्ण अन्य विकास निर्माण कार्यहरु गर्नुपर्ने हुन्छ उनले थपे ।

प्राथमिक स्वास्थ केन्द सञ्चालनका लागि बरहथवा नगरसँग क्षमता छैन, सिमित बजेट र आयश्रोत भएका कारण बरहथवा नगरपालिकाले नगरअस्पताल सन्चाल गर्न नसकिने उनको भनाई रहेको छ । यता नेकपा एमाले र माओवादी केन्द्र समित केही अन्य राजनीतिक व्यक्तिहरु नगर अस्पताललाई नगरपालिकाकै मातहत राख्न अघि आउदा यता ५ दल बिच राजनीतिक द्वन्द सुरु भएका छन् । पाँच दलले धर्ना, विरोध रैली सहित आमरण अनशनमा बसेर भएपनि प्राथमिक स्वास्थ केन्द्रलाई प्रदेश सरकारलाई हस्तान्तरण गराउने पक्षमा उभिए भने एमाले सहित केही राजनीतिक व्यक्तिहरु कुनै पनि शर्तमा नगरकै मातहत राख्न शर्तमा अडिग रहेका कारण शान्तिपुर्ण आन्दोलन उग्र रुप लिन पुगेको देखिन्छ ।

बरहथवाका केही राजनीतिक विश्लेषका अनुसार नगर अस्पताललाई प्रदेशमा हस्तान्तरणको विषयमा भएको विवादमा सबै राजनीतिक दलले आगो पेट्रोल छर्ने काम गरेको बताउँछन् । दुवै पक्षका बिच वार्ता र छलफल गरी कुनै निचोडमा पुग्नुपर्ने मध्यस्थकर्ताको भुमिका निर्वाह गर्न व्यक्ति वा राजनीतिक दलको अभावका कारण अस्पतालको विवाद अर्को मोड लिएको उनिहरुको ठम्याई छन । यो विषयमा निपष्क्ष रुपमा समन्वयकारी गर्ने व्यक्तिको अभाव थियो र दुवै पक्ष आ–आफना अडानबाट टसमस नभएपछि बरहथवा अहिले रणभूमिमा परिणत भएको छ ।

प्रहरीद्वारा युवकको टाउको गोलि हानेर मारिनु मानवताविरोधी कार्य भएको भन्दै मानवअधिकारकर्मी मुकेश मिश्रले घोर निन्दा गरे । प्रहरीलाई गोलि चलाउने परिस्थिति आयो भने खुट्टा अथवा घुडामा गोलि चलाउने नियम रहेका छन तर बरहथवाको घटना प्रहरीले टाउकोमा गोलि हान्नु प्रहरीको बर्बरताको संज्ञा दिदै सरकारद्वारा गैर न्यायिक हत्या भएको उनले टिप्पणी गरे ।

प्रहरीद्वारा मानवअधिकार हनन हुने काम भएको भन्दै घटनाको निष्पक्ष छानवीन गरी घटना संलग्न जो कोहीलाई कडा भन्दा कार्वाहीको मानवाधिकारकर्मी मिश्रले जोडदार माग गरे ।

मृतक युवक जय शकर साह
बंगलादेशमा एमबिबिएसको दोस्रो बर्षमै अध्ययनरत रहेका साहको बुबाको कोरोना कालमा हृदयघातबाट मृत्यु भएपछि किरियाका लागि उनी नेपाल फर्किएका थिए । बुबाको होटेल, कुखुरा फार्म र दाना सप्लायर्सका ठुला डिलर, कृषि लगायत अन्य व्यवसाय रहेका कारण उनी स्वदेश फर्किएपछि फेरि पढाइलाई निरंतरता दिन बगलादेश पुग्न सकेन ।

घटना भएको दिन पनि उनको आफन्त बिहेका लागि केटी हेर्न महोत्तरीको रामगोपालपुर पुगेका थिए, घटना भएको थाहा पाएपछि बिच बाटोबाटै बरहथवा फर्किएको मृतकका फुफुको छोरा मोहन साह बताउँछन् । घटना हुनु भन्दा केही बेर अगाडि कुखुराको दानाको गाडी आएको भन्दै बुलेट बाईकको स्टाट गरि होटेलबाट बाहिर निस्किएका थिए । होटेलमा काम गर्ने मजुदुरहरुलाई बाहिर ननिस्कन भन्दै उनी कुखुरा फार्म पुगेर फर्किएर घटना भएको पुल भन्दा अन्दाजी २–३ सय मिटर नजिक दक्षिण रामजानकी फर्निचर शो रुम नजिक सडकको पश्चिम छेउमा बाईक पार्क गरेर आन्दोलनको फोटो खिच्न फेरी पुलमा पुगेका थिए ।

घटना भएको बेला पुल नजिक ५–१० मा मात्र सर्वसाधारण रहेको प्रत्यक्षदर्शीको दाबी गरे । प्रहरीले विद्युत प्राधिकरणको छेउबाट तारेर टाउकोमा गोली मारेको हुन सक्ने स्थानीयको आशंका रहेका छन ।

ईलाका प्रहरी कार्यलयकै दक्षीण छेउमा साहको सर्लाही होटेल र घटनास्थलको ७–८ सय मिटरको दुरीमा कुखुरा फार्म तथा दाना सप्लायर्स रहेका छन । साह माथी गोलि चलाउने प्रहरी र साह बिच कुनै विषयलाई लिएर पटकपटक भनाभन र विवाद हुँदै आएको मृतकका भान्जा सुशील साहले बताए । मामा होटेलबाट बाहिर निस्कनु र गोलि चलाउने प्रहरी पनि ठुला हतियार लिएर छेउको बाटो भएर घटनास्थल नजिक पुग्नु र केही बेरमै त्यही प्रहरीद्वारा मामाको टाउकोमा गोलि प्रहार हुनुलाई मामाको व्यक्तिगत रिसबीका कारण हत्या गरिएको मृतकका भान्जा सुशील साहको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : १५:५१:३५ , ६ महिना अगाडि

error: Content is protected !!