अपाङ्गता भएकाको माग ‘मतदानस्थल अपाङ्गतामैत्री होस्’

आर्य न्युज

कास्की। स्थानीय तह निर्वाचन नजिकिएसँगै अपाङ्गता भएकाका लागि एक किसिमको समस्या देखिने गरेको छ । गोप्य मतदान गर्न पाइन्छ कि पाइँदैन, अपाङ्गता भएका तथा दृष्टिविहीनलाई भोटिङको व्यवस्था के–कस्तो होला जस्ता कुराले सताउने गरेको पाइएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्तिका लागि वैकल्पिक भोटिङ मेसिन व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारको सदस्य पनि फरक विचारको हुन सक्छ । त्यसैले उनीहरूले बुझ्ने खालको भोटिङ मेसिनको व्यवस्था हुन आवश्यक छ ।’’

स्थानीय तह निर्वाचन ऐन–२०७३ मा दृष्टिविहीन, शारीरिक अशक्तता, अपाङ्ग वा आफैँ मतदान गर्न नसक्नेले परिवारका एक सदस्य वा मतदान अधिकृतको सहायतामा इच्छाएको मतपत्रमा मत सङ्केत गरिदिने व्यवस्था छ । तर, अबको निर्वाचनमा प्रविधियुक्त भोटिङ मेसिन प्रयोग हुनुपर्ने शर्माको माग छ । उहाँका अनुसार गण्डकी प्रदेशमा करिब ९६ हजार अपाङ्गता भएका व्यक्तिको सङ्ख्या रहेको छ ।

मतपत्रमा ब्रेललिपि हुनुपर्ने या डिजिटलाइज हुनुपर्ने शर्माको भनाइ छ । मतदानमा अपाङ्गता भएका व्यक्तिले अरूको सहयोग लिनुपर्ने बाध्यता हटाउन सकियो भने न्यायोचित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मतदान स्थलमा पुग्न समय लाग्छ । त्यसपछि बाटोमा भन्दा तेब्बर समय भोटिङमा लाग्छ । आधुनिक युगमा डिजिटल माध्यमबाट भोटिङ गर्ने व्यवस्था हुनुपर्छ ।”

नेत्रहीन युवा सङ्घ नेपाल कास्कीका अध्यक्ष सूर्यप्रसाद भट्टराईले अपाङ्गता भएका व्यक्तिका लागि मतदाता शिक्षा सबैलाई जानकारी नभएको बताउनुभयो । उहाँका अनुसार शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा दृष्टिसम्बन्धी अपाङ्गता, शारीरिक अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, बौद्धिक अपाङ्गता, बहुअपाङ्गता, शारीरिक अपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक र मानसिक गरी १० प्रकारमा वर्गीकरण गरिएको छ ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “अपाङ्गताअन्तर्गत अटिजम, मनोसामाजिकजस्ता व्यक्तिका लागि मतदाता शिक्षा बुझाउन गाह्रो हुन्छ । तिनीहरूका लागि सूचनामा प्रस्ट बुझ्नेखालका अक्षर राख्न आवश्यक छ ।” मतदान स्थल साँघुरो हुँदा ह्वीलचेयर, बैसाखी टेकेर जान गाह्रो हुने उहाँले बताउनुभयो ।

“निर्वाचन प्रक्रियामै कठिनाइ छ, मतदान स्थल उपयुक्त ठाउँमा नहुँदा समस्या हुने गरेको छ । दृष्टिविहीन, बौद्धिक अपाङ्गतालगायतले आफैँ मतदान गर्ने व्यवस्था छैन । उनीहरूको अर्काले मतदान गर्दा गोप्य भए, भएन भन्नेमा प्रश्न आउने गर्छ,” उहाँले भन्नुुभयो । घरपरिवारकै सदस्य तथा निर्वाचन अधिकृतको सहायतामा भोट हाल्ने व्यवस्था भए पनि उनीहरू फरक राजनीतिक आस्थाका भएका कारण मत सुरक्षित नहुने गरेको उहाँको भनाइ छ ।

“आफूले इच्छाएको व्यक्ति लैजान पाउने व्यवस्था हुनुपर्छ । अपाङ्गता भएका व्यक्तिको अधिकारयुक्त भोटिङ गर्ने व्यवस्था होस् भन्ने हाम्रो माग हो,” उहाँले भन्नुुभयो । राजनीतिक पार्टीले पनि अल्पसङ्ख्यकलाई प्राथामिकतामा राख्ने तर अपाङ्गता भएकालाई नराख्ने गरेको उहाँको गुुनासो छ । “सातै प्रदेशमा कोही पनि अपाङ्गता भएका व्यक्ति प्रमुख पदमा छैनन् । राज्यबाट पनि प्राथमिकतामा राखिएको छैन, यो अन्याय हो,” उहाँले भन्नुभयो ।

पोखरा–१२ की दुर्गा चापागाईं पनि शारीरिक रूपमा अशक्त हुनुुहुुन्छ । उहाँको मतदान केन्द्र पोखरा १२ मै छ । जन्मदा सकुशल जन्मिनुभएकी दुर्गाको पछि मेरुदण्डमा समस्या देखियो । १२ वर्ष भयो, उहाँले सजिलै हिँड्डुल गर्न नसकेको ।

उहाँ मतदानका बेला सामाजिक रूपमा अपहेलित हुनुपरेको गुुनासो सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “निर्वाचनअघि घरमै राजनीतिक दलका नेता, कार्यकर्ता गाडी लिएर आइपुग्छन् । आफ्नो पार्टीमा मतदान गर्न त्यहाँ एककिसिमको मायाप्रेम देखाउँछन् । तर, मतदान केन्द्रमा पुुगेर मतदान गरिसकेपछि घर फर्केने बेलामा लिन आएको मान्छेले बेवास्ता गर्छन् ।”

प्रकाशित मिति: २०२२-०४-२९ , समय : ०७:४५:१८ , १ वर्ष अगाडि

error: Content is protected !!