२० बैशाख २०८१, बिहिबार
2024-05-02

विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुक एक क्लिकमै अकाउन्ट ह्याक हुने

आर्य न्युज /Aarya News

देवानगञ्ज । विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुक एक क्लिकमै अकाउन्ट ह्याक हुने भएका छन् । सामाजिक सञ्जाल फेसबुकको जुनसुकै अकाउन्ट क्लिकमै ह्याक हुने कमजोरी पत्ता लगाउने नेपाली युवक समीप अर्याल हुन्।

विश्वको चर्चित सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै जुनसुकैको अकाउन्ट ह्याक हुने कमजोरी फेला पारेपछि मेटाले नेपालका साइबर सुरक्षा अनुसन्धानकर्ता अर्याललाई पहिलो र्‍याङ्कमा राखेको हो ।

शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याक अर्थात हल अफ फेमको पहिलो र्‍याङ्कमा राखेको साइबर सुरक्षा विज्ञ समीप अर्यालले बताएका छन् । उनले भनेका छन्,‘फेसबुकमा भएको जुनसुकै एकाउन्ट एक क्लिक र जिरो क्लिकमै आफ्नो कब्जामा लिन सक्ने कमजोरी पत्ता लगाएँ । यस्तो एकाउन्ट नै टेकओभर गर्ने कमजोरी पत्ता लगाएर फेसबुकमा नोटिस गरेपछि मेटाले सन् २०२४मा एक नम्बर र्‍याङ्क दिएको हो।’

उनले लिंक पठाएर र लिंक नपठाइकन पनि जुनसुकै फेसबुक प्रयोगकर्ताको एकाउन्ट कब्जामा लिन सक्ने कमजोरी पत्ता लगाएको बताए । उनले भने, ‘ यदि मैले कुनै लिंक पठाएर फेसबुक प्रयोगकर्ताको एकान्ट कब्जामा लिएँ भने त्यसलाई एक क्लिक र फेसबुक प्रयोगकर्तालाई लिंक नपठाइकनै उसको एकाउन्ट कब्जामा लिए भने त्यसलाई जिरो क्लिक भन्छौं। फेसबुकमा यो दुवै कमजोरी मैले पत्ता लगाएँ र फेसबुकलाई खबर गरेँ।’

उनका अनुसार अहिले भने फेसबुकले उक्त कमजोरीलाई सुधार गरिसकेको छ । फेकबुकको सुरक्षालाई थप बलियो बनाउन टु फ्याक्टर अथेन्टिकेस बाइपासमा ध्यान दिनुपर्ने उनको सुझाब छ । उनी भन्छन्, ‘फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन बाइपास कमजोरीले अरूको कब्जामा जान सक्छ । त्यसकारण हामीले यसबारे सचेत रहनुपर्छ ।’

यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औं स्थानमा परेका थिए । उनले फेसबुकमात्रै नभएर सामाजिक सञ्जाल इमो, ओटीटी प्लेटफार्म नेटफ्लिक्सका कमजोरी पत्ता लगाएर रिवार्ड पाइसकेको बताए । यसरी कमजोरी पत्ता लगाइदिएबापत उनी फेसबुकले आयोजना गर्ने साइबर सुरक्षा रेक्युरिटी रिसर्चमा सहभागी भइसकेका छन् ।

उनी भन्छन्, ‘फेसबुकले सन् २०२१ मा सिंगापुरमा साइबर सेक्युरिटी रिसर्च कन्फरेन्स आयोजना गरेको थियो । जसमा मलगायत नेपालका ४ जना सहभागी भएका थियौं ।’ उनका अनुसार सन् २०२१ मा सिंगापुरमा फेसबुकले आयोजना गरेको साइबर सेक्युरिटी कन्फरेन्समा नेपालबाट रिकेश बानियाँ, मनोज गौतम, नरेश लामगाडे, सौगात पोखरेल सहभागी भएका थिए ।

उनी हाल इलोक्ट्रोनिक्स एण्ड इलोक्ट्रोकिल कम्युनिकेशन विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा पढ्दैछन् । मेटाले सार्वजनिक गरेको फेसबुक ह्याकरको सूचीमा समीपसंगै नेपालका लोकेश कुमार, बृस्तित दाहाल र शान्तबहादुर घर्ती मगर पनि क्रमशः ६, ७ र ८ औं नम्बरमा परेका छन् ।-Nepal Times

प्रकाशित मिति: २०२४-०२-२६ , समय : १९:५०:२१ , २ महिना अगाडि

error: Content is protected !!