२० बैशाख २०८१, बिहिबार
2024-05-02

देशमै पहिलो पटक सर्लाहीमा केन्द्राअध्यक्ष निलम्बन सहित सबै निरिक्षकलाई जिम्मेवारीबाट हटाइयो

राधेश्याम कुशवाहा

सर्लाही। जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले चैत्र १५ गतेदेखि सुरु भएको एसइइ परीक्षालाई मर्यादित बनाउन कडा एक्शनमा देखिएको छ ।

तराई मधेसमा परीक्षा अमर्यादित र असभ्य तरिकाले हुने गरेका गुनासा र पुराना मान्यतालाई तोडदै परीक्षालाई मर्यादित बनाउने तत्वहरुलाई निर्मम तरिकाले कार्वाही गर्न लागेका हुन ।

परीक्षालाई मर्यादित बनाउन नसकेको भन्दै देशमै पहिलो पटक एसइइ परीक्षा २०८० का तेस्रो दिन सर्लाहीको धनकौल गाउँपालिका वार्ड न. ५ हरकठवा स्थित श्री जनता माध्यमिक विद्यालयका केन्द्राध्यक्ष निलम्बन गरी एकैसाथ सबै निरिक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

जिल्ला परीक्षा समन्वय समिति सर्लाहीको बसेको एक बैठकले परीक्षाको मर्यादा कायम गर्न नसकेको भन्दै विद्यालयका केन्द्राध्यक्ष रामनारायण यादव लाई हटाएर गोडैता नगरपालिका वार्ड न.१० सिसौटिया नारायण हरि माविका प्रधानाध्यापक मनोज कुमार यादवलाई केन्द्राध्यक्ष तोकेका हुन ।
हरकठवा मावि परीक्षा केन्द्रमा अनुगमन गर्न ११५ थान मोबाईल फोन र एक जना नक्कली परीक्षार्थी पक्राउ परेको शिक्षा विकास समन्वय इकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।

एसईई परीक्षाको तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा धनकौल गाउँपालिका वार्ड न. १ श्री जनकल्याण मा.वि धोविनियाका परीक्षार्थी राकेश कुमार महतो(सिम्बल नं ०२२१००४५“क्“)को सट्टा अर्को व्यक्ति नक्कली परीक्षार्थी परीक्षा दिदै गरेको अवस्थामा फेला परेका छन । इकाइ प्रमुख महतोले भने ।

फेला पर्नेमा कविलासी नपा–७, सिरसियाका अनुमानित वर्ष १९ का कृष्ण महतो रहेका छन । नक्कली परीक्षार्थीलाइ पक्राउ गरि सक्कली परिक्षार्थीको यो बर्षकोे पुरा परीक्षा नै रद्द गरेको उहाँको भनाई छ ।

केन्द्राध्यक्ष निर्देशन पुस्तिका–२०८० को बुदाँ नं ख(१०)(त) बमोजिम परीक्षामा अनियमितता गरेकोले अन्य ६ जना परिक्षार्थी श्री प.मा.वि, पर्सा गापा–५, सर्लाही परीक्षा केन्द्रका अनिस राय(सिम्बल नं.०२२०४५०८“त्“), श्रीमती लक्ष्मीदेवी ज.मा.वि, मलंगवा नपा–११, गम्हरिया, सर्लाही परीक्षा केन्द्रका लिलम कुमारी (सिम्बल नं.०२२०२५५७“क्“ ), मनोज कुमार महतो (सिम्बल नं.०२२०७५३८“ज्“), भिम नारायण श्रेष्ठ (सिम्बल नं.०२२०७५२७“ध्“) र मो.आर्यण मिकरानी (सिम्बल नं ०२२०९०१६“म्“) तथा श्री केश्वर गरिव ज.मा.वि, हरिपूर्वा नपा–५, सर्लाही परीक्षा केन्द्रका अनिता कुमारी यादव(सिम्बल नं.०२२०७२२६“ज्“)को गणित विषयको परीक्षा रद्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।

एसईई परीक्षाको तेस्रो दिन अनिवार्य गणित ( नियमित तथा ग्रेडबृद्धि) विषयको परीक्षा अनुगमन÷निरीक्षणको क्रममा प्रतिबन्धित÷अवाञ्छित वस्तु (किताव, कापी,नोटबुक,गाइड, गेसपेपर, अनुचित कागजात,मोबाइल फोन, ट्यावलेट,चिप्स, स्मार्ट वाच लगायत) ठूलो संख्यामा फेला परेको हुदाँ सम्बन्धित केन्द्राध्यक्षले परीक्षाको मर्यादा कायम राख्न कुशलतापूर्वक आफ्नो जिम्मेवारी वहन गर्न नसकेको, कर्तव्य र दायित्व पूरा गर्न सक्षम नदेखिएको ठहर सहित जिल्ला अन्तरगतका श्रीमती लक्ष्मीदेवी ज.मा.वि, मलंगवा नपा–११, गम्हरिया, सर्लाही परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश राय, श्री जनता मा.वि, चक्रघट्टा गापा–२, बेल्ही, सर्लाहीका परीक्षा केन्द्रका केन्द्राध्यक्ष विरेन्द्र चौधरी लाई निलम्बन गरिएको जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले जनाएको छ ।
रिक्त केन्द्राध्यक्ष पदमा क्रमशः सोही विधालयका सहायक केन्द्राध्यक्ष वसन्त कुमार प्रसाद साह, कविलासी नगरपालिका वार्ड न. १० स्थित सलेमपुर ज.मा.वि का प्रधानाध्यापक रविन्द्र रायलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।

परीक्षालाई मर्यादित बनाउने सवालमा कुनै सम्झौता नगरिने जिल्ला परीक्षा समन्वय समिति सर्लाहीका प्रमुख तथा प्रजिअ धमलाले बताए । परीक्षा समन्वय समितिले ३, ४ वटा टोलि निर्माण गरी परीक्षालाई नियमित अनुगमनको व्यवस्था मिलाएका छौं, प्रजिअ धमलाले भने ।
बाहिरबाट परीक्षा मर्यादित देखिने तर भित्रबाट चोरी भएको र खासगरी मोबाईल फोन, स्मार्ट वाच लगायत डिजिटल डिवाइसको प्रयोग गरी परीक्षामा चोरी गर्ने गरेको पाइएको छ । गुनासा आएका र शंका लागेका ठाउँहरुमा अनुगमनका लागि थप कर्मचारी सहितको टोलि राखेका उहाँले थपे ।

सिसिटिभीको पहुँच भएको विद्यालयको परीक्षा जिल्ला परीक्षा समन्वय समिमिको कार्यलयको मोनिटरबाट निगरानी गर्न सकिने, प्रजिअले आफनो मोबाईलबाटै हेर्न सकिने व्यवस्था मिलाएको उहाँको भनाई छ ।

अभिमुखिकरण कार्यक्रममा समेत मोबाईल फोन स्मार्ट वाच लगायत डिजिटल डिवाईस ल्याउन पाइदैन । परीक्षाको आचरण भित्र पर्दैन । तर पनि जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुबाट भारी संख्याहरुमा मोबाईल बरामद भएको अवस्था छ । यो त अति नै भयो । यस्तै दोहिरियो भने अझ कडा रुपमा जाने छु , उहाँले भने । एउटा परीक्षा केन्द्रबाट एक जना अर्काको नाममा परीक्षा दिदै गरेको अवस्थामा नक्कली परीक्षार्थी नै पक्राउ परेको छ । मर्यादा विपरीत भन्दा अपराध नै भइहाल्यो ।
यो त अपराध नै हो । एउटा राम्ररी मिहिनेत गरेर पढने विद्यार्थीका लागि त पाप नै हुन्छ । त्यसैले हामीले परीक्षालाई मर्यादित बनाउनका लागि कडाई गरेको उहाँको भनाई छ ।
११५ वटा मोबाईल फोन बरामद भएको केन्द्राध्यक्षलाई कसरी राख्ने । अहिले पनि सामान्य ढंगले कार्वाही गरिएको छ। अगामी दिनहरुमा पनि यस्तै दोहिरि रहयो भने कडा रुपले कार्वाही गरिने उहाँको भनाई छ ।
परीक्षा केन्द्रबाट नक्कली परिक्षार्थी सहित भारी संख्यामा मोबाईल फोन समेत बरामद भएको कारण ३ जना केन्द्राध्यक्ष निलम्बन सहित ७ जना परिक्षार्थीको परीक्षा नै रद्द गरिएको छ । प्रजिअ धमलाले भने । अहिले हामी सामान्य रुपमा प्रस्तुत हुदै छौं। अगामी दिनमा फेरी यस्तै दोहिरो भने कडा रुपमा जाने उहाँले ठोकुवा गरे ।

चक्रघटा गाउँपालिकाको वार्ड न.२ बेल्ही स्थित श्री जनता मा.वि सर्लाहीका परीक्षा केन्द्रमा सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनालको नेतुत्वमा अनुगमन टोलि पुग्दा ६९ थान मोबाईल बरामद गरेको थियो भने मलंगवा नगरपालिका वार्ड न. ११ गम्हरिया लक्ष्मीदेवी जनता मावि परीक्षा केन्द्रमा प्रमुख जिल्ला अधिकारी कोमल धमला र एसपी दयानिधि ज्ञवालीको नेतुत्वमा अनुगमन गर्न जादा मोबाईलबाट प्रश्नपत्र बाहिर गएको र उत्तर भित्र आएको फेला परेको जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले जनाएका छन ।

प्रकाशित मिति: २०२४-०४-०१ , समय : २३:०६:२३ , १ महिना अगाडि

error: Content is protected !!