०७ जेठ २०८१, सोमबार
2024-05-20

प्रदेशको विकासका लागि सबैदललाई साथमा लिएर हिड्ने– नव नियुक्त मुख्यमन्त्री कार्की

मनोज दाहाल / रासस

विराटनगर । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबैदलहरुलाई साथमा लिएर हिड्ने बताउनु भएको छ ।

कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकोले सबैदलसँग सहकार्य गरि आगाडि वढ्ने र यसका लागि प्रयास जारी रहने प्रष्ट
पार्नु भयो ।

नव नियुक्त मुख्यमन्त्री कार्कीले आगामी तीन दिनभित्र थप एक ÷दुई दल सरकारमा सहभागी हुने जानकारी समेत मुख्यमन्त्री कार्कीले दिनु भयो । उहाँले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएको हो भन्दै त्यही अनुसार संचालन हुने र अहिले उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधान र कानून अनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ भन्दै कानून र संविधान भन्दा माथि र वाहिर कोही नभएको प्रष्ट पार्नु भयो । उहाँले प्रदेशलाई उपार्जन गर्ने र महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्ने र प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले बार्षिक नीति तथा कार्यक्रम एवं बजेट ल्याउने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चाँडै विश्वास मत लिनुका साथै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२४-०५-०९ , समय : २२:३३:२४ , २ हप्ता अगाडि

error: Content is protected !!