०४ बैशाख २०८१, मंगलबार
2024-04-16

भिल्लारियलमाथि लिभरपुलको सहज जित

आर्य न्युज

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले स्पेनिस बलियो टोली भिल्लारियलमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले भिल्लारियललाई २–० गोलले हरायो ।

प्रिक्वार्टर फाइनलमा इटालियन महारथि युभेन्ट्स र क्वार्टरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई हराएर सेमिफाइनलमा स्थान बनाएको भिल्लारियल लिभरपुलसँग त्यति जम्न सकेन । लिभरपुलको सहज जितमा साडियो मानेले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा लिभरपुलले अर्को गोल भिल्लारियलबाट आत्मघाती उपहार पाएको थियो ।

लिभरपुलले ५३औँ मिनेटमा भिल्लारियलका पर्भिस इस्टुपिनानको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ५५औँ मिनेटमा साडियो मानेले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि लिभरपुलले थप अवसर बनाएपनि गोल गर्न सकेन । जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

जारी सिजन उच्च लयमा रहेको लिभरपुल चार उपाधि जित्ने अभियानमा छ । लिग कपको उपाधि चुमेको लिभरपुल एफए कप र प्रिमियर लिगको समेत उपाधि दौडमा छ । भिल्लारियललाई भने फाइनलमा पुग्न अब अर्को साता घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तिमा तीन गोलअन्तरको नतिजा निकाल्नु पर्ने चुनौती छ । एजेन्सी

प्रकाशित मिति: २०२२-०४-२९ , समय : ०७:४८:०८ , २ वर्ष अगाडि

error: Content is protected !!