विराटनगर । महेन्द्र मोरंग आर्दश बहुमुखी क्याम्पसको अगाडि विरोद्ध प्रदर्शन गरेका विद्यार्थीहरुद्धारा प्रदेश योजना आयोगको गाडीमा आगजानी गरेका छन् ।
गृहमन्त्री रवि लामिछाने विराटनगरमा आएको बेला कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरुले आगजनी गरेको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारी चढेको गाडीमा आगजनी भएको मोरङ प्रहरीले जनाएको छ । त्यसै गरि ५ भन्दा बढी गाडी तोडफोड गरेका छन्।
मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी) माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको विरोधमा विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुको पक्राउ परेका विद्यार्थीको रिहाइको माग राख्दै शुक्रबारदेखि आन्दोलित रहेका छन् । पक्राउ परेको विद्यार्थीहरुले निजी विद्यालयहरुले आफूखुसी कानुनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा विवाद हुँदा नगर प्रहरीमाथि हातपात भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रक्राउ पर्ने विद्यार्थीहरुमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् । पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको आरोप छ । पक्राउ परेकाहरु विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइ पाँच दिन म्याद थप भएको छ । पक्राउ परेका सबै रिहा हुनुपर्ने विद्यार्थीको माग छ ।
विद्यार्थीहरुले पक्राउको विरुद्ध विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका थिए । पक्राउ परेका विद्यार्थीलाई बिनाशर्त रिहाई नगरे शशक्त आन्दोलनमा उत्रिने विद्यार्थीहरुको भनाई छ ।
प्रकाशित मिति: २०२४-०६-०९ , समय : १६:४१:४९ , ४ महिना अगाडि