१५ चैत्र २०८०, बिहिबार
2024-03-28

एक पानी उत्पादन कम्पनीको जारभित्र किरा र लेउ भेटिए

Desk

नेपालीमा पढ्नुहोस

काठमाडौं। भक्तपुरको चाँगुनारायण-३ झौखेलमा एक पानी उत्पादन कम्पनीको जारभित्र किरा र लेउ भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी माधवप्रसाद शर्माले जारको पानीमा किरा र लेउ भेटिएको पुष्टि गरे । उपत्यकामा हैजा फैलिएपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले जारको पानीमा किरा र लेउ भेटाएको हो।

उनले भने,’ जारको पानीमा किरा भेटिएको भन्दै एक उपभोक्ताले गुनासो गरेपछि प्रशासनको टोलीले अनुगन गर्दा पानीमा किरा र लेउ भेटिएको हो।’झौखेलमा सञ्‍चालित पानी उद्योग र उपभोक्ताको घरमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा पानी उत्पादन कम्पनीको चरम लापरवाही भेटिएको उनको भनाइ छ।

‘अनुगमनका क्रममा अत्यन्तै पुरानो र लेउ परेका जार समेत बजारमा बेच्न राखिएको पाइयो,’उनले भने,’ उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्नेगरी पानी उत्पादक कम्पनीको लापरबाही देखियो। अब कारवाही अगाडि बढाउँछौ ।’

यसलगत्तै उक्त क्षेत्र रहेका अन्य पानी कम्पनीको नमूना परीक्षणका लागि पठाइएको छ।अनुगमनका क्रममा भेटिएका पुराना र कुहिएका जारलाई नष्ट गरिएको छ । पानी उत्पादक कम्पनीलाई सचेत समेत गराइएको छ । खानेपानीको जारभित्र किरा र लेउ भेटिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासंघ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, विज्ञ र सरोकारवाला निकायसहितको टोली अनुगमनमा गएको हो।

अनुगमनका क्रममा पानी उद्योगबाट दुईवटा उद्योगको पानी परीक्षणका लागि नमूना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार फोहर पानीको सेवनले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने गर्छ । हैजा, टाइफाइट, कलेराजस्ता रोगहरु फोहर पानी र फोहोरजन्य खानेकुराकै कारण लाग्ने गर्छ। फोहोर पानीका कारण झाडापखाला फैलने गर्छ ।शुद्ध पानी पिउँदा धेरै रोगबाट बच्न सकिने डाक्टर पुनले बताए।

प्रकाशित मिति: २०२२-०७-२१ , समय : १३:१६:०९ , २ वर्ष अगाडि

error: Content is protected !!