१५ बैशाख २०८१, शनिबार
2024-04-27

भारतीय नम्बर प्लेटको कन्टेनरले ठक्कर दिँदा दुई जनाको मृत्यु

Aarya News Desk

नेपालीमा पढ्नुहोस

विराटनगर श्रावन ६ गते। भारतीय नम्बर प्लेटको कन्टेनरले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–२ गंगा चोकमा शुक्रबार बिहान दुई जनाको मृत्यु भएको छ। दक्षिणबाट उत्तर (विराटनगरबाट इटहरी) तर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ नै जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले ठक्कर दिएको हो। कन्टेनरले बिहान ६:४५ बजेतिर कोसी लोकमार्गमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो। कन्टेनरको तीव्र गतिका कारण दुर्घटना भएको कार्कीले बताए।

प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ। साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा कन्टेनरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको प्रनि कार्कीले बताए। घटनाको विरोधमा स्थानीयले सवारीसाधन सञ्चालनमा रोक लगाएर केहीबेर कोसी लोकमार्ग अवरुद्ध गरेका थिए।

प्रहरीले सडक भने सूचारु गरिसकेको छ। उक्त सडकको पश्चिमतर्फको भाग लगभग दुई साताअघिदेखि खनेर त्यत्तिकै छाडिएको छ। नेपाल टेलिकमको च्याम्बर व्यवस्थित गर्न सडक खनेको बताइएको छ। खनेर त्यत्तिकै छाडिएपछि ६ लेनमध्ये पश्चिमतर्फको २ लेन सडकमा सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन।

दक्षिणबाट उत्तरतर्फ जाने १ लेन सडक मात्रै सञ्चालनमा छ। १ लेन सडकमा ‘ओभरटेक’ गर्न खोज्दा तीव्र गतिको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सम्बन्धित निकायले लापरबाहीपूर्ण तरिकाले सडक खनेर लामो समयदेखि त्यत्तिकै छाडिदिँदा दुर्घटना भएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। उनीहरुले उक्त सडकखण्डमा तत्काल वारीसाधन सञ्चालन सहज बनाइनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: २०२२-०७-२२ , समय : ०८:१९:१९ , २ वर्ष अगाडि

error: Content is protected !!