१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

विराटनगरका करातेका दुई प्रशिक्षक एवं रेफ्रीमाथि सामूहिक बलात्कारको आरोप लागे

Desk

नेपालीमा पढ्नुहोस

विराटनगर श्रावन ११ गते। विराटनगरका करातेका दुई प्रशिक्षक एवं रेफ्रीमाथि सामूहिक बलात्कारको आरोप लागेको छ। बलात्कारको आरोपपछि विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउत पक्राउ परेका छन्।

सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया युवतीले सुवेदी र राउतविरुद्ध किटानी जाहेरी दिएकी हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार किटानी जाहेरीका आधारमा दुवै जनामाथि अनुसन्धान अघि बढाइएको छ। आइतबार पक्राउ परेका उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक सुवेदी र राउत करातेका रेफ्रीसमेत हुन्। २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त गरिएका दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए। सुवेदी बलात्कार पीडित भनिएकी युवती अध्ययनरत विराट हेल्थ कलेजका डिसिप्लेन इन्चार्ज (अनुशासन विभाग प्रमुख)समेत हुन्। कलेजमा कार्यरत रहँदा चिनजान भएकी युवतीलाई सहयोग गर्ने बहानामा नजिक भएर बारम्बार बलात्कार गरेको आरोप सुवेदीमाथि छ। प्रहरीका अनुसार विराटनगरको खारजीमा कोठा भाडा लिएर बस्दै आएकी युवतीलाई डेरामा र विभिन्न ठाउँमा लगेर बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ।

अन्तिम पटक गत जेठमा विराटनगरको विराट होटलमा सुवेदी र राउतले सामूहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको हो। जाहेरीमा दिन भने उल्लेख गरिएको छैन। तर, पालैपालो बलात्कार गर्दै मोबाइलमा भिडियोसमेत बनाएको पीडित महिलाले आरोप लगाएकी छन्। प्रहरीले भने दुवै जनाको मोबाइलबाट घटनासँग सम्बन्धित भिडियो नभेटेको जनाएको छ। ‘भिडियो बनाइएको रहेछ भने पनि घटना बाहिरिएपछि भिडियो डिलिट गरिएको हुनसक्छ’, प्रहरी स्रोतले भन्यो, ‘अनुसन्धानबाट भिडियो खिचेको वा नखिचेको पत्ता लगाउन सकिन्छ।’ सुवेदीले मदिरा खुवाएर पटक पटक बलात्कार गरेको जानकारी पीडितले प्रहरीलाई दिएकी छन्।

‘सुवेदीले लगभग चार महिनाअघिदेखि बारम्बार बलात्कार गरेको जानकारी पीडितले गराएकी छन्’, एक प्रहरी अधिकृतले भने, ‘विराट होटलमा भने सुवेदी र राउत दुवै जनाले सामूहिक बलात्कार गरेको भनेर किटानी जाहेरी परेको छ।’ प्रहरीका अनुसार मदिरा खुवाएर भिडियो बनाउँदै सामूहिक बलात्कार गरेपछि मानसिक तनावका कारण आफू कलेजसमेत जान नसकेको पीडितले बताएकी छन्। अभिभावकले सोधीखोजी गरेपछि उनले आफू सामूहिक बलात्कारमा परेको र कलेज जानसक्ने अवस्थामा नभएको बताएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-०७-२७ , समय : १२:३९:०४ , २ वर्ष अगाडि

error: Content is protected !!