१२ बैशाख २०८१, बुधबार
2024-04-24

मुखबाट रगत बगिरहेको अवस्थामा एक जना युवा मृत फेला परे

Desk

नेपालीमा पढ्नुहोस

बिराटनगर। मोरङको बेलबारी नगरपालिका–३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा मंगलबार बिहान एक जना युवा मृत फेला परेका छन्। खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका अन्दाजी २७–२८ वर्षीय विशाल राई ओछ्यानमै मृत फेला परेका हुन्। राईको ठेगाना खुलेको छैन।

मुखबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमा शव भेटिएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार मृतक सानैमा बेलबारी–३ का तारा कटुवालको घरमा आएर बसेको खुलेको छ। ७/८ वर्षअघि कटुवालको घरबाट निस्किएर हिँडेपछि उनले ट्याक्टरमा काम गर्न थालेको प्रहरीले जनाएको छ। अहिले भने बरफ फ्याक्ट्रीमा काम गर्दै आएका थिए। फ्याक्ट्रीका अन्य मजदुरले दिएको जानकारी अनुसार राईलाई तीन दिनदेखि ज्वरो आइरहेको थियो। बिहानीपख छात्ती दुख्यो भनेर छटपटाएका उनको केही बेरमै मृत्यु भएको मजदुरले प्रहरीलाई बताएका छन्।

राई विरुद्ध २०७६ सालमा जबरजस्ती करणी उद्योगको मुद्दासमेत चलेको थियो। एक वर्षअघि कारागारबाट छुटेपछि बरफ फ्याक्ट्रीमा मजदुरको रूपमा काम गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार ५/६ वर्षको उमेरमा बेलबारी आएर बसेका उनको घरको ठेगाना भने खुलेको छैन। राईले ठेगाना बेलबारी–३ भनेर लेखाउने गरेका थिए। शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-०८-०९ , समय : १५:००:५७ , २ वर्ष अगाडि

error: Content is protected !!