१२ बैशाख २०८१, बुधबार
2024-04-24

सुनसरीमा १ सय ४८ किलोग्राम गाँजा बरामत

आर्य न्युज

लागूऔषध गाँजा

विराटनगर १७ बैशाख । सुनसरीमा सशस्त्र प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजा बरामत गरेको छ । भोक्राहानरसिंह गाउँपालिकाहुँदै भारततर्फ लैजान खोजिएको ठूलो परिणामको लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।

मिनी ट्रकमा राखेर भारत कटाउन खोजिएको १ सय ४८ किलोग्राम गाँजा भोक्राहानरसिंह वडा नम्बर- ६ बाट शुक्रबार राति ९ बजेतिर बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बताए । प्रदेश १–०२–००२ ख ८६१४ नम्बरको ट्रकमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन डीआईजी गिरीले विशेष टोली परिचालन गरेका थिए।

उक्त टोलीले गाँजा र ट्रकसहित चालक धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर- ४ का ३६ वर्षीय हेमप्रसाद राईलाई पनि नियन्त्रणमा लिएको थियो। गाँजा नियन्त्रणमा लिएपछि सशस्त्रलाई आर्थिक प्रलोभन देखाउँदै ‘सेटिङ’ मिलाउन खोज्ने दुई जनासमेत पक्राउ परेका छन्। सशस्त्रलाई पैसा बुझाएर ट्रक, गाँजा र चालकलाई छुटाउन प्रयास गर्ने शहीदभूमि गाउँपालिका वडा नम्बर – २ का ३६ वर्षीय हिक्मत राई र ३५ वर्षीय आशिष राई पक्राउ परेका हुन्।

सशस्त्रलाई बुझाउन भनेर ५ लाख ५० हजार रूपैयाँ लिएर उनीहरु आएका थिए। सशस्त्रलाई ‘सेटिङ’ मिलाउन भन्दै को ४० प २२११ नम्बरको पल्सर मोटरसाइकलमा आएका हिक्मत र आशिषलाई उनीहरुले ल्याएको नगदसहित पक्राउ गरिएको डीआईजी गिरीले बताए। उनका अनुसार पक्राउ परेका व्यक्तिसहित नियन्त्रणमा लिइएको नगद, गाँजा र ट्रक आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

तस्करीमा संलग्नहरुले पूर्वी पहाडी जिल्लामा उत्पादन हुने लागूऔषध गाँजा सुरक्षाकर्मीलाई छलेर भारततर्फ लैजाने गरेका छन्। नेपालमा प्रति किलो गाँजाको मूल्य २० हजार रूपैयाँभन्दा बढी पर्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ। भारतमा दोब्बर मूल्यमा बिक्री हुने भएपछि तस्करको समूहले अवैध गाँजा लुकाईछिपाई नेपालबाट भारत पुर्याउने गरेका हुन्।

सुरक्षाकर्मी स्थानीय निर्वाचनमा व्यस्त भएको मौका पार्दै अवैध धन्दा चलाउनेहरु सक्रिय भएको हुनसक्ने सशस्त्रले जनाएको छ। ‘सुरक्षाकर्मी आसन्न स्थानीय तह निर्वाचनतर्फ केन्द्रित छन्। यस्तो अवस्थामा लागूऔषधदेखि लिएर अन्य वस्तुको तस्करी गर्नेहरु सक्रिय भएको पाइयो,’ डीआईजी गिरीले भने, ‘अवैध धन्दा एवं अवाञ्छित गतिविधि नियन्त्रणमा लिन सशस्त्र सक्रिय भएर लागेको छ। सबै ठाउँमा निगरानी बढाएर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।’

लागूऔषधलगायतका अवैध वस्तु ओसारपसार र भन्सार चोरी पैठारी नियन्त्रण गर्न सशस्त्रको विशेष टोली २४ घण्टा नै तैनाथ गरिएको जानकारी उनले दिए। निर्वाचन लक्षित उचित सुरक्षा व्यवस्था मिलाउने र नेपाल–भारत सीमा क्षेत्रबाट हुनसक्ने विभिन्न गतिविधि तथा अवैध धन्दा नियन्त्रणमा लिने सवालमा कुनै सम्झौता नहुने गिरीले स्पष्ट पारेका छन्।

त्यस्तै आटा (मैदा)को बोराभित्र राखेर भारतको जोगवनीबाट नेपालतिर ल्याउँदै गरिएको लागूऔषध प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रणमा लिएको छ। साइकलमा ल्याउँदै गरेको लागूऔषध सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) दरैयाबाट खटिएको टोलीले शुक्रबार दिउँसो बरामद गरेको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार सशस्त्रले रोक्नासाथ लागूऔषध ओसारपसारमा संलग्न रहेका व्यक्ति साइकल र बोरा छाडेर भारततिर नै भागेका छन्। बोरा खानतलासी गर्दा लागूऔषध भेटिएको हो। फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको उनले बताए।

एसपी लामिछानेका अनुसार आटासहितको बोराभित्रबाट लागूऔषध नाइट्राभेट ६ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ५ सय २८ ट्याब्लेट र डाइलेक्स डीसी ५९ बोतल बरामद गरिएको छ। बरामद गरिएको लागूऔषध र नियन्त्रणमा लिएको साइकल आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए।

 

प्रकाशित मिति: २०२२-०४-३० , समय : २०:०८:२३ , २ वर्ष अगाडि

error: Content is protected !!