१३ बैशाख २०८१, बिहिबार
2024-04-25

आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

Aarya News Desk

नेपालीमा पढ्नुहोस

विराटनगर। असोज संक्रान्तिको अवसरमा शनिबारका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा रहेको छ ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन् । वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण भएको छ ।

आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ ।

प्रकाशित मिति: २०२२-०९-१७ , समय : ०९:०१:२३ , २ वर्ष अगाडि

error: Content is protected !!