१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

बिराटनगर बिमान दुर्घटना भए पछि पूर्णकालीन अभियास

आर्य न्युज

विराटनगर १८ बैशाख। विराटनगर विमानस्थलमा आइतबार बिहान करिब ८ बजेतिर देखिएको आगोको मुस्लोसँगै दमकल र एम्बुलेन्सहरू साइरन बजाउँदै दौडिएपछि आसपासका बासिन्दा आतंकित भए । विमानस्थलको आगोको मुस्लो नजिकैबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले स्टेचरमा मान्छे बोकेर बाहिर ल्याइरहेको दृष्यले ‘ठूलै दुर्घटना’को अनुमान कतिपयलाई भएको थियो ।

विमानस्थलको त्यो दृष्यले विमानस्थल वरिपरि पनि सर्वसाधारणको भीड लागेको थियो । विमानस्थलभित्रबाट स्टेचरमा ल्याइएका मानिसलाई एम्बुलेन्समा हालेर दौडाएको दृष्यले दुर्घटनाको संकेत गरिरहेको थियो । जसले बाहिर रहेका नागरिकमा त्रास नै फैलाएको थियो ।

तर विमानस्थलभित्रको त्यो दृष्य कुनै दुर्घटना नभई “उद्धार अभ्यास” मात्र थियो । नागरिक उड्डयन प्राधिकरणसहित सुरक्षा निकायले विमानस्थलभित्र हुनसक्ने दुर्घटनाको क्षति कम गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्धार अभ्यास गरेका हुन् ।

अभ्यासको क्रममा आधार दर्जन बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, एयरलाइन्स कम्पनीका कर्मचारीहरूसहितको टोली सक्रिय थियो । हरेक दुई वर्षमा यस्ता अभ्यास हुने गरेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जनकारी दिए ।

विमानस्थलभित्रै कुनै जहाज दुर्घटना भइहालेको अवस्थामा गर्नुपर्ने सम्पूर्ण सावधानीहरूसहितको अभ्यास गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको यो अभ्यास भएकोले यसलाई वास्तविकता जस्तै बनाएर अभ्यास हुने गरेको खरेलले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विमानस्थल संवेदनशील क्षेत्र भएकोले कुनै दुर्घटना भइहालेको अवस्थामा त्यसलाई कसरी सबैको समन्वयमा तत्काल उद्धार र उपचार गर्ने भन्ने सिकाईको लागि यस्तो अभ्यास महत्वपूर्ण हुने बताए । अभ्यासको क्रममा देखिएका त्रुटीलाई सच्याएर आन्तरिक रणनीति बनाउने गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: २०२२-०५-०१ , समय : २२:३१:४१ , २ वर्ष अगाडि

error: Content is protected !!